राजेन्द्र आचार्य
चितवन, १५ फागुन । चितवनमा शान्ति सुरक्षालाई थप मजबुत बनाउन उच्च प्रविधिको हाईटेक सिसिक्यामेरा जडान गरिने भएको छ । शान्ति सुरक्षा कायमसगैँ अपराधिक क्रियाकलाप नियन्त्रण र बढ्दो सवारी दुर्घटनाको कारण पत्ता लगाउन नाईटभिजनसहितको हाईटेक सिसि क्यामेरा जडान गर्न लागिएको हो ।
पछिल्लो समय चितवनमा अपराधिक क्रियाकलाप संगसंगै सडक दुर्घटनामा पनि बृद्धि भएपछि यसको न्युनिकरणको लागि जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानहरुमा उच्च प्रविधिको हाइटेक सिसि क्यामेरा जडान गर्ने तयारी गरेको छ ।
जिल्लाको उत्तरी भेगमा पर्ने मौवा खोलादेखि लोथरसम्म हाईटेक सिसि क्यामेरा जडान गर्न तयारी सुरु गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिईकन सिसि क्यामरा राख्न पाइने छैन । जडान हुने सिसि क्यामेराले जिल्लामा शान्ति सुरक्षा बजबुत बनाउन थप टेवा पुग्ने आशा गरिएको छ । सिसि क्यामरा जडानका लागि कार्यदल नै गठन गरिएको छ ।
कार्यदलले एक हप्ताभित्र जिल्लाको मौवाखोलादेखि लोथरसम्म कति सिसि क्यामेरा राख्ने भनी अवलोकन गरेपछि बजेट बिनियोजन गरी क्यामेरा जडान कार्य सुरु हुनेछ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख सुशिलसिंह राठौरले उच्च प्रविधिको सिसि क्यामेराको जडानले अपराध अनुसन्धानमा सजिलो हुने बताए ।
जिल्लाको शान्ति सुरक्षालाई ध्यानमा राखी उच्च प्रविधिको सिसि क्यामेरा जडान गर्न ल्याइएको योजनालाई सकारात्मक मानिएको छ । यस्तो कदमले स्थानीयहरुलाई पनि सुरक्षाको प्रत्याभुती दिलाउन सकिन्छ ।