काठमाडौं, १५ फागुन । मेलबोर्न – पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ ।
बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरु हुन् । अस्ट्रेलियाली न्यायाधीशको समिति (जुरी)ले सर्वसम्मतरुपमा पेल दोषी रहेको ठहर गरेको छ । कार्डिनल पेलले सन् १९९० को दशकमा मेलबोर्नस्थित सेन्ट प्याट्रिक्स क्याथेड्रलमा दुई बालक विरुद्ध यौन आक्रमण गरेका थिए ।
हाल ७७ वर्ष पुगिसकेका कार्डिनल पेलले त्यसबखत १२ र १३ वर्षका दुई नाबालकलाई यौन शोषण गरेको बताइएको छ । अदालतको आदेशबाट जमानतमा रहेका कार्डिनल पेलले आफूमाथि लागेका आरोपमा सत्यता नरहेको दाबी गर्दै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।
भ्याटिकनका तर्फबाट तत्काल कुनै प्रतिक्रिया दिइएको छैन तर पेलले आफू निर्दोश रहेको बताउँदै आएका छन् । ‘कार्डिनल जर्ज पेलले आफू निर्दोश रहेको र त्यसमा आफू अडिग रहेको बताउनुभएको छ,’ कार्डिनलका वकीलका तर्फबाट जारी वक्तव्यमा भनिएको छ ।
जुरीले गरेको फैसलाका विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदन गरिने वक्तव्यमा उल्लेख छ । पेल विरुद्ध लगाइएका केही अरु आरोप पनि यसअघि फिर्ता लिइएका वा उन्मूक्ति दिइएका छन् ।
पेलले दूव्र्यवहार गरेका भनिएका एक बालकको सन् २०१४ मा मृत्यु भएको थियो । उनको परिवारका सदस्यले पेलका कारण गहिरो दुःखमा परेका ती बालकको लागूऔषधको सेवनबाट मृत्यु भएको दाबी गर्दै आएका छन् ।
दोस्रो पीडित व्यक्तिका तर्फबाट वकीलले जारी गरेको एक वक्तव्यमा जारी कानुनी प्रक्रिया निकै तनाबपूर्ण रहेको र यो अझै समाप्त नभएको बताइएको छ । उनले भनेका छन्, ‘अरु पीडितझैं मैले पनि लज्जा, एकान्तपन, उदासी अनुभूत गरेको छु ।’