भुवन भन्छन्, ‘‘क्याप्टेन’ राष्ट्रिय फिल्म’’ | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

भुवन भन्छन्, ‘‘क्याप्टेन’ राष्ट्रिय फिल्म’’

bhuwan kc

देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको एक फुटबल खेलाडीको संघर्षमा आधारित भएर निर्माण भएको फिल्म ‘क्याप्टेन’ यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक हो । सुपरस्टार अनमोल केसीको अभिनय रहेका कारण पनि यो फिल्मको प्रतिक्षा गरेर बस्ने दर्शक धेरै छन् । नेपाली फिल्म क्षेत्रले पनि निकै आश गरेको फिल्म हो यो ।

गीतसंगीत र ट्रेलरले फिल्मको यतिबेला लोभलाग्दो हाइप निर्माण भएको छ । ‘रहर छ सँगै’ र ‘कर्ली कर्ली कपाल’ बोलको गीत अहिले विभिन्न मेला महोत्सवदेखि चिया पसलमा धन्किन थालेका छन् । ट्रेलरले उस्तै राम्रो प्रतिक्रिया पाइरहेको छ । अनमोलका फिल्ममा कन्टेन्ट हुँदैन भन्ने आरोपलाई यो फिल्मले चिर्ने अनुमान कतिपयको छ । फागुन १७ मा फिल्म रिलिज हुँदैछ ।

यस फिल्ममा अनमोल ‘इशान’ को चरित्रमा छन् । गाउँस्तर हुँदै राष्ट्रियस्तरको फुटबल खेलाडी बन्न एक युवकले गरेको संघर्षको परिफेरीमा फिल्म घुमेको छ । जीवनमा कहिल्यै फुटबल नखेलेका अनमोलले फिल्ममा फुटबल खेलाडीको भूमिका न्यायपूर्वक निभाउनका लागि पूर्व फुटबल क्याप्टेन हरि खड्काबाट तीन महिना तालिम समेत लिएका थिए ।

दीवाकर भट्टराई निर्देशित फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् । शुक्रवार ‘कर्ली कर्ली’ बोलको गीत सार्वजनिक कार्यक्रममा निर्माता केसीले ‘क्याप्टेन’ ले राष्ट्रियता बोकेको बताए । उनी यस फिल्मलाई आफू राष्ट्रिय फिल्म भन्न चाहने पनि बताउँछन् । तर, देशमा एउटा गतिलो खेल मैदान नभएको भन्दै उनले सरकारप्रति गुनासो पनि पोखे ।

‘हामीले फुटबल खेलाडीको संघर्षको कथामा फिल्म बनायौं । यो फिल्म बनाउन हामीलाई सजिलो थिएन । नेपालमा एउटा गतिलो फुटबल मैदान समेत छैन । खेल मैदान नहुँदा हामीले नपाउनु दुःख पायौं’, भुवनले सुनाए । उनी खेल क्षेत्रमा देशले फड्को मार्न सरकारले सातै प्रदेशमा फुटबल खेल मैदान निर्माण गर्न आवश्यक रहेको औंल्याउँछन् ।

उनले एन्फाको सहयोग बिना ‘क्याप्टेन’ बन्न नसक्ने पनि बताए । भुवनले एन्फाका खेलाडीदेखि पदाधिकारी सबैलाई धन्यवाद व्यक्त गरे । कलाकार र खेलाडीलाई सरकारले राष्ट्रको गहना भन्ने गरेको र दुबै ज्वाइन हुनु एकदमै खुसीको कुरा रहेको उनको भनाइ छ । फिल्म हेरेपछि हरेक खेलाडीले आफ्नो जीवन कथा महशुस गर्ने उनको विश्वास छ । फिल्मीखबरबाट 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);