काठमाडौं, ४ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल छ महिनादेखि पदाधिकारीविहीन छ । गत साउन २३ मा तत्कालीन उपकुलपति प्राडा गणेश गुरुङको कार्यकाल सकिएपछि हालसम्म सरकारले उपकुलपति लगायतका पदाधिकारी नियुक्त गर्न सकेको छैन । स्वास्थ्य मन्त्रालयले गत २७ साउनमै सूचना जारी गर्दै उपकुलपतिका लागि आवेदन माग गरेको थियो । माग अनुसार २५ जनाले त्यसका लागि आवेदन दिएका थिए ।
आवेदकमध्येका प्रस्तुतिबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन जनाको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । तर, हालसम्म पनि सरकारले उपकुलपति नियुक्त गर्न सकेको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पदाधिकारीका लागि स्वास्थ्य मन्त्रालयबाट गर्ने सबै काम सकिएको जानकारी दिए । ‘‘मन्त्रालयको तर्फबाट कुनै पनि काम बाँकी छैन’’,मन्त्री यादवले थपे,“अब मन्त्रिपरिषद्बाट उपकुलपति नियुक्त गर्नुपर्नेमा हालसम्म नियुक्त गरिएको छैन ।” अब केही दिनभित्र न्याम्सको उपकुलपति नियुक्त हुने जानकारी दिए ।
गत असोज १ मा उत्कृष्ट तीन जनाको नाम प्रधानमन्त्री कार्यालयमा सिफारिस गरिएको जानकारी दिदै उनले अब न्याम्सको पदाधिकारी नियुक्तिमा ढिलाइ नहुने जानकारी दिए। स्वास्थ्य मन्त्रालयले आवेदकको प्रस्तुतिबाट डा. डिएन साह, डा.अजित रायमाझी र डा. ढुण्डीराज पौडेललाई छनौट गरेको थियो ।
प्रतिष्ठानमा उपकुलपति लगायतका पदविहीन बन्न पुग्दा प्रशासनिक काममा समेत बाधा पुगेको छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।