सिंहदरबार गाउँ पस्यो : दंग छन् नरैनापुरवासी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सिंहदरबार गाउँ पस्यो : दंग छन् नरैनापुरवासी

narainapur gaupalika

बाँके, ४ फागुन । बाँकेको सुदूरपूर्वमा पर्ने नरैनापुर गाउँपालिकाका नागरिक यतिवेला दंग छन् । स्थानीय निर्वाचनपछि जनप्रतिनिधिको आगमन, सुरक्षा निकाय, बैंक तथा वित्तीय संघसंस्था खुल्नु र गैरसरकारी संस्था स्थापना भएपछि चहलपहल बढेको छ । भारतीय सीमानजिकैको नरैनापुर गाउँपालिकामा विगतमा पहाडी मूलका नागरिक जान मान्दैनथे । नेपालगन्ज–बघौडाअन्तर्गत पर्ने ४४ किलोमिटर हुलाकी सडक निर्माण भएपछि मोटरसाइकलमा एक घन्टामा नेपालगन्ज पुग्न सकिने भएको छ । सरकारी गतिविधि बढेको तथा जनप्रतिनिधिको आउजाउ बढेका कारण स्थानीयलाई राज्य भएको अनुभूत भएको छ ।

स्थानीयले नेपाली भाषा बोल्न थाले
नरैनापुर गाउँपालिकामा अवधि र हिन्दी भाषा बोल्नेको संख्या धेरै छ । सरकारी कार्यालय स्थापना भएसँगै कार्यक्रम लिएर नेपालगन्जबाट सरकारी कार्यालय र गैरसरकारी कार्यालय जान थालेपछि हिन्दी एवं अवधी भाषा मात्र बुझ्ने नरैनापुरका सर्वसाधारणले नेपाली भाषा पनि बुझ्न र बोल्न थालेको नरैनापुर गाउँपालिका–५, मटेहियाका गुरुमरत यादवले बताए । ‘नेपाली भाषी र सरकारी कार्यालयसँग सम्बन्ध, सम्पर्क नभएपछि बोल्ने र बुझ्ने कुरै भएन,’ उनले भने ।

बैंक स्थापनापछि नेपाली रुपैयाँ चलनचल्तीमा
स्थानीय तहको निर्वाचनपछि नरैनापुरमा बैंक स्थापना भएको छ । बैंक स्थापना भएपछि भारु छाडेर नरैनापुरवासीले नेपाली रुपैयाँमा कारोबार गर्न थालेका छन् । स्थानीय व्यापारी मोहम्मद सलिम हुसैन खाँले नेपाली रुपैयाँको चलनचल्ती सुरु भएको बताए ।

नेपाली मोबाइल प्रयोगमा वृद्धि
भारतीय टेलिफोनमा निर्भर नरैनापुरवासी अहिले नेपाली टेलिफोन प्रयोग गर्न थालेका छन् । पहिले नेपाली मोबाइलको नेटवर्कले काम नगरेपछि यहाँका नागरिक भारतीय मोबाइल टेलिफोन प्रयोेग गर्न बाध्य थिए । नेपाल टेलिकमले मोबाइल टावरको व्यवस्था गरेपछि पछिल्लो समय नेपाली मोबाइल प्रयोगकर्ता बढेको नरैनापुर गाउँपालिका–५, मटेहियाका मोहम्मद सफिक बेहनाले बताए । ‘भारतीय मोबाइल फोन पनि प्रयोग हुन्छ, तर नेपाली मोबाइल प्रदायकको फोन प्रयोग गर्नेको संख्या बढेको छ,’ उनले भने ।

बघौडा भनेर चिनिने नरैनापुर गाउँपालिका विकासको हिसाबले बाँकेको कर्णाली भनेर चिनिन्छ । भारतीय टेलिफोनमा निर्भर रहेको नरैनापुर गाउँपालिकाको कार्यालयका साथै ६ वटै वडामा इन्टरनेट सेवा पुगेको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);