पोखरा, २० माघ । पोखरामा जारी मनकामना केबुलकार पोखरा कपमा थ्रीस्टारलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनमा प्रवेश गरेको छ ।
खेल शुरु भएको ३५ सेकेण्डमै गोल गर्दै एपीएफले अग्रता लिएको थियो । एपिएफलाई राजीव लोप्चानको ‘कर्भ पास’मा डिबक्स भित्रबाट सन्तोष श्रेष्ठले गोल गर्दै अग्रता दिलाए । त्यही गोलले एपीएफले रुस्लान थ्रीस्टारको चुनौति पन्छाउँदै अन्तिम चारको ढोका खोल्यो ।
घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शनको छाप छोडेको रुस्लान थ्रीस्टारले ३५ सेकेण्डमै गोल खाएपछि दर्शक पनि आश्चर्यचकित हुन पुगे ।
अधिकांश बल सशस्त्रको डिफेन्स लाईनबाट क्लियर र गोलकिपरले बचाउ गर्दै सशस्त्रको अग्रता बनाई राखे । सोमबार प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र पाहुना टोली डाफिन्स क्लब परिवार क्यामरुनबीच हुनेछ ।