काठमाडौं, ६ माघ । तराईका जिल्लामा पेसेवर रुपमा आपराधिक गतिविधिमा संलग्नविरुद्ध प्रहरीले आक्रामक कारबाही सुरु गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
केही आपराधिक समूहले ‘टाउको उठाउने’ तयारी गरेको सूचना प्राप्त भएको भन्दै प्रदेश २ र ५ मा प्रहरीले गम्भीर किसिमका अपराधमा संलग्नलाई देख्नेवित्तिकै गोली हान्ने रणनीति लिएको छ ।
प्रहरीको रणनीति कारबाही अन्तर्गत पछिल्लो एक सातामा तीन जना माथि गोली प्रहार भएको छ । एकजनाको मृत्यु र दुई घाइते भएका छन्। सिरहा र बाँकेमा दुई जनालाई खुट्टामा गोली हानेर पक्राउ गरेको छ भने रुपन्देहीमा एकको ज्यान गएको छ ।
शुक्रबार सिरहामा एक हतियार कारोबारीलाई गोली प्रहार गरी घाइते बनाएर पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ससिरहाको टोलीले हतियार ओसारपसारमा संलग्न प्रमोद यादवलाई गोली हानी नियन्त्रणमा लिएको छ ।
जिल्लाको सुकसैनामा उनलाई पक्राउ गर्न खोज्ने क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाएको र उनको खुट्टामा चोट लागेको एसपी जीवन कुमार श्रेष्ठले बताए।