दलालका आँखा पूर्वी पहाडमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

दलालका आँखा पूर्वी पहाडमा

manab bechbikhan

काठमाडौं, ५ माघ । नेपाली चेलीहरूलाई भारतको राजधानी दिल्लीको कोठीमा लगेर बेच्ने एक युवक प्रहरीको फन्दामा परेका छन्। आठ वर्षदेखि नेपाली चेली बेचबिखनको धन्दामा संलग्न सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३१ वर्षीय छोङहाङ भन्ने सन्तोष राईलाई प्रहरीले केही दिनअघि समातेको हो।

पूर्वी पहाडका धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुमसहितका जिल्लाबाट चेलीहरूलाई दार्जिलिङ र सिक्किमस्थित ब्युटी पार्लरमा आकर्षक कमाइ हुने जागिर मिलाइदिने भन्दै उनले फसाउने गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जानकारी दिएको छ। सन्तोषलाई चेलिबेचीलाई फकाउन पूर्वी पहाड जाँदै गरेको अवस्थामा सुनसरीको धरानस्थित धनकुटे रोडबाट समातिएपछि उक्त गिरोहबारे नयाँ तथ्य खुलेको हो।

‘हाम्रो लामो अनुसन्धानका क्रममा सन्तोषले महिला बेचबिखनमा संलग्न गिरोहसँग मिलेर पूर्वी पडहाका चेलीलाई फसाउने गरेको पाइएको छ’, सीआईबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘गरिब परिवारका चेली सजिलै प्रलोभनमा पर्ने गरेको पाइयो, पछिल्लो पटक उनले दिल्लीको वेश्यालयमा बेचेका चार चेलीको पहिचान भएको छ।’

सीआईबीका अनुसार पछिल्लो पटक सन्तोष र उनको गिरोहले दिल्लीको जीबी रोडस्थित वेश्यालयमा बिक्री गरेका चारमध्ये एकको उद्धार गरिएको छ। अन्य तीन चेलीको खोजी भइरहे पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन। ती चेलीलाई दिल्लीको वेश्यालयमा साढे ४ लाखदेखि ६ लाख रुपैयाँसम्ममा बिक्री गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।

सन्तोषले आफू करिब ८ वर्षदेखि चेलिबेटी बेचबिखनमा संलग्न रहेको बयान दिएका छन्। ‘विभिन्न बहानामा नेपालको सिमाना कटाएर भारतीय वेश्यालयमा पुर्‍याएर एउटी चेलीलाई नेपाली ६ लाख रुपैयाँसम्ममा बेच्ने गरेको खुलेको छ’, प्रवक्ता चतुर्वेदीले भने, ‘एउटी चेलीलाई वेश्यालयमा बेचेबापत उनले ५० हजारदेखि १ लाख रुपैयाँसम्म कमिसन लिएको खुलेको छ।’ सन्तोष पक्राउ परेपछि प्रहरीले दिल्लीको वेश्यालयमा रहेका तीन नेपाली चेलीको उद्धार प्रयास थालेको छ। साथै सन्तोषसँगको गिरोहको पनि खोजीलाई अघि बढाएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);