काठमाडौं, ३ माघ । करिव १६ महिनाअघि देखि सुरू गरिएको कर्मचारी समायोजन प्रक्रिया अन्तिम मोडमा पुगेको छ। सरकारले कर्मचारी समायोजन फारम भर्न बुधबार राति १२ बजेसम्म समयसीमा तोकेको छ। समयसीमा सकिएदेखि नै समायोजन प्रक्रिया नयाँ चरणमा प्रवेश गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले माघ २ गते बाट समायोजनको प्रक्रिया नयाँ चरणमा प्रवेश गर्ने बताए। माघ मसान्तसम्म्म समयोजनका काम सबै टुंगिने पनि उनले प्रतिबद्धता जनाए। उनले भने, ‘अब समायोजनको काम अर्को चरणमा पुगेको छ। माघ मसान्तसम्म समायोजनको सबै काम टुंगो लाग्छ।’ यता कर्मचारीहरू समायोजन फाराम भरिएको विषयलाई समयोजन प्रक्रिया अन्तिम चरणमा पुगेको भनी बुझ्न नहुने तर्क राख्छन्।
कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले भने, ‘अब समायोजन प्रक्रियाको सबैभन्दा जटिल र महत्वपूर्ण काम सुरू हुँदैछ। अहिले त १० प्रतिशत मात्र काम सकिएको हो।’ छोटो समयमै सबै कर्मचारीले उत्साहपूर्वक समायोजन फाराम भरेको भन्दै समायोजनको कामलाई कर्मचारीले सहयोग गरका उनले दाबी गरे। उनले भने, ‘निजामती किताबखानाको कमजोर अपडेट, पटकपटक सर्भरमा भएको त्रुटि तथा दरबन्दीबारे स्पष्ट नहुँदानहुँदै पनि कर्मचारीले जसरी समायोजन फाराम भरे। यो उत्साहजनक छ।’
संघीय मन्त्रालयले माघ २ पछि कर्मचारीलाई चिठी दिन सुरू हुने जनाएको छ। सामान्य प्रशासन मन्त्रीले माघ २ पछि कर्मचारीलाई समायोजनको चिठी दिने काम सुरू गरिने बताएका छन्। समायोजन फाराम नभर्ने कर्मचारीको हकमा समायोजन अध्यादेशअनुसार सरकारले आफैं खटाउने पनि उनले बताए।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।