काठमाडौं २८ पुस । आयोजना सञ्चालन गर्ने बेला निर्माण कम्पनीले स्थानीयलाई रोजगारी दिने, क्षति भएका संरचना पुनःनिर्माण गरिदिने, स्वास्थ्य संस्था र विद्यालय स्थापना गरिदिने, लगायतका आश्वासन दिएको थियो ।
तर, आज त्यही जलविद्युत आयोजना स्थानीयको लागि अभिसाप बनेको छ । आयोजनाले सम्झौता विपरीत काम गरिरहेको अतिप्रभावित र प्रभावित क्षेत्रका स्थानीयको गुनासो त छदैँछ । कतिपय स्थानीय त जलविद्युत आयोजनाकै कारण घरबार बिहीन भएका छन् ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ सिसन्दुकी डिल्लीमाया तामाङलाई तल्लो लिखु जलविद्युत आयोजनाले रुदै हिंड्ने बनाएको छ । आयोजनाको सुरक्षाको लागि नेपाली सेनाको क्याम्प स्थापना गर्न आयोजनाले डिल्लीमायाको जग्गा लियो । डिल्लीमायाले आयोजनालाई जग्गा उपलब्ध गराइदिए वापत घर बनाईदिने साथै उनको श्रीमान र छोरालाई आयोजनामै रोजगारी दिने सहमति थियो ।
आयोजनाको सुरक्षामा खटिएका नेपाली सेना बस्नको लागि निर्माण गरिएका घरहरु पनि आयोजना सम्पन्न भएपछि डिल्लीमायालाई नै छोडिदिने समेत आश्वासन दिएको छ, आयोजना निर्माण कम्पनीले ।
तर, कम्पनीले न डिल्लीमायाको श्रीमान र छोरालाई रोजगारी नै दियो । न त घर नै बनाई दियो । बरु आयोजनाले डिल्लीमायालाई जवर्जस्ती १० लाख रुपैयाँ ऋण लिन लगायो । आयोजनाले डिल्लीमायालाई निरब्याजी भनी १० लाख रुपैयाँ ऋण आयोजनाबाट लिन बाध्य बनायो र ऋण स्वीकृत गर्ने नाउँमा झुक्याएर नेपाली सेनाको क्याम्प राख्न दिएको खेत दृष्टिबन्धक गरिदियो ।
भिडियो हेर्नुहोस्:
आयोजनाले डिल्लीमायालाई दिएको १० लाख रुपैयाँ ऋणको स्वीकृत गर्न भनि झुक्याएर जिल्ला मालपोत कार्यालय मन्थलीमा ल्याई दृष्टिबन्धक पत्रमा ल्याप्चे थिच्न लगाए । डिल्लीमाया र उनको श्रीमान दुवै जना निरक्षर भएकाले आफूलाई दृष्टिबन्धकमा ल्याप्चे थिचाएको पत्तै भएन ।
आयोजनाको काम सुरु हुनु पहिलेको शर्त अनुसार डिल्लीमायाको परिवारलाई रोजगारी दिनु त परैको कुराभयो डिल्लीमायालाई आयोजनाले जालसाजी गरेर कमाई खाने खेत नै दृष्टिबन्धक गरिदिएको छ । डिल्लीमायालाई जबर्जस्ती १० लाख रुपैयाँ ऋण दिएर जग्गा नै कम्पनीको नाममा लैजाने नियतले आयोजनाले जालसाजी गरेपछि अहिले डिल्लीमायाको बास नै उठेको छ ।
डिल्लीमायासँग जग्गा फिर्ता गर्ने हैसियत नहुँदा गाउँबाटै विस्थापित हुनुपर्ने अवस्था छ । आयोजनाले डिल्लीमायाको श्रीमान र छोरालाई जागिर दिने आश्वासन दिएर जग्गा समेत दृष्टिबन्धक गरिदिएपछि अहिले उनको परिवारलाई बिहान बेलुका हातमुख जोड्न समेत समस्या भएको छ ।
घरमा बिहान बेलुकाको छाक टार्न समेत समस्या भएपछि डिल्लीमाया आफ्नो परिवार चलाउनको लागि गाउँ छाडेर शहरतिर भाँडा माझ्ने काम खोज्ने सुरसारमा छिन् । आयोजना र आफ्ना परिवारबीच भएको सम्झौताअनुसार आयोजनाले श्रीमान र छोरालाई रोजगारी नदिएपछि डिल्लीमायाले आयोजनामा खाना पकाउने र भाँडा माझ्ने काम आफूलाई दिन अनुरोध गरिन् तर आयोजनाले कुनै सुनुवाई नगरेपछि उनी काम खोज्नको लागि शहर पस्न लागेकी हुन्।
स्थानीयको माग धेरै ठूलो पनि छैन । वातावरण प्रदूर्षण हुन नदिनु, भएका संरचनाको संरक्षण, आई.ई.ई. प्रतिवेदनमा उल्लेख भएका शर्तहरुको कार्यान्वयन र स्थानीयसँग गरेका पूर्वशर्तहरुको कार्यान्वयन गरिदिए मात्र पुग्छ स्थानीयलाई ।
आयोजना सुरु हुनु पहिले स्थानीयसँग गरेको सम्झौता अनुसार स्थानीयले आयोजना निर्माणको कार्यमा दक्षता अनुसारको काम पाउनु पर्ने माग गरेका छन् ।
आयोजनाले नेपाल सरकारसँग आयोजना स्वीकृत गराउने क्रममा गरेको शर्तहरु पालना नगरेको स्थानीय सरकारको भनाई छ । आयोजना स्वीकृत गराउँदा निर्माण कम्पनीले नेपाल सरकारसँग गरेको सम्झौता अनुसार काम नभएमा स्थानीय सरकारले आयोजनाको काम अगाडि बढाउन नदिने गाउँपालिकको भनाई छ ।