चितवन, २८ पुस । सिमान्तकृत बालबालिकालाई विद्यालय आउँदा सरकारले दिने खाजा कटौती भएपछि माडी नगरपालिकाभित्र पर्ने बाँदरझुलाका आधारभूत विद्यालयमा विद्यार्थी संख्या घटेको छ ।
बाँदरझुला सुकुम्बासी बस्ती हो, जसलाई चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमित क्षेत्र भन्दै आएको छ । मकवानपुर र चितवनका पहाडी क्षेत्रका चेपाङहरू पनि बसोबासका लागि यहाँ पुगेका छन् ।
चेपाङजस्ता सिमान्तकृत आदिवासी समुदायका बालबालिकाका लागि विद्यालयमा दिउँसोको खाजा कार्यक्रम सञ्चालन हुँदै आएको थियो । साउनयता खाजाका लागि रकम आएको छैन । बाँदरझुलाका विद्यालयहरूले खाजाका लागि आउने नगद नै विद्यार्थीलाई दिन्थे । ‘एक जनालाई खाजा खर्च भनेर १५ रुपैयाँ आउँथ्यो । हामीले त्यही रकम विद्यार्थीलाई दिन्थ्यौं,’ जनजागृति आधारभूत विद्यालयकी सहयोगी कार्यकर्ता पवित्रा गुरुङले भनिन् ।
बाँदरझुलामा शिशुदेखि कक्षा तीनसम्म पढाइ हुने जनजागृति र श्रीदमार आधारभूत विद्यालय छ । त्यसैगरी कक्षा ८ सम्म पढाइ हुने बाँदरझुला आधारभूत विद्यालय छ । तीनवटै विद्यालयमा चेपाङ बालबालिका छन् । खाजा कार्यक्रमले चेपाङ बालबालिकालाई स्कुल आउन प्रेरित गरेको थियो । रकम कटौती भएपछि विद्यालय आउने विद्यार्थी संख्या घटेको शिक्षकहरू बताउँछन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।