डोटी, १३ पुस । ८० रुपियाँ विद्युत् महसुल तिर्न डोटीका सोवाग्राहीले २ हजार बढी रकम खर्च गर्नुपरेको छ। जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् महसुल तिर्ने काउन्टर नभएका कारण सोवाग्राहीले न्यूनतम रकम तिर्न घण्टौं हिँडेर तथा गाडीको यात्रा गरी सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दीपायल पुग्नुपर्ने बाध्यता रहेको छ।
शिखर नगरपालिका–१ कपल्लेकीका सेवाग्राही दीर्घबहादुर ऐरले भने– ‘गाउँमा ३÷३ महिनामा विद्युत्को मिटर रिडिङ हुने गरेको छ। ३ महिनाको विद्युत् महसुल ८० देखि १ सय रुपियाँ आउने गरेको छ।’
त्यसरी आएको बिल तिर्न ग्रामीण क्षेत्रबाट क्षेत्रीय सदरमुकाम दीपायल जानुपर्ने हुँदा २ हजारभन्दा बढी रकम खर्च हुने गरेको गुनासो सोवाग्राहीले गरेका छन्।
८० रुपियाँ विद्युत्को महसुल तिर्नका लागि दीपायल जाँदाको गाडी भाडा ५ सय र होटेलमा बास बस्दासमेत झन्डै २ हजारभन्दा बढी रकम खर्च हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन्। एकै दिनमा विद्युत्को बिल भुक्तानी गर्न नसकिने र पालो कुर्नुपर्ने भएकाले पनि समस्या विकराल बन्दै गएको छ।
जिल्लाका ग्रामीण क्षेत्र कपल्लेकी, मुडभारा, सानागाउँ, गोपघाटलागयतका क्षेत्रमा विगतमा विद्युत् महसुल बुझाउने काउन्टर खोलिएको भए पनि विद्युत् कार्यालयले कर्मचारीको अभाव देखाउँदै सबै काउन्टर दीपायल र सिलगढी सारेपछि सेवाग्रही समस्यमा परेका छन्।
यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।




