काठमाडौं, १३ भदौ । दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् ।
गत वर्षको भदौ २९ गते चार वर्षका लागि नियुक्त घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउन लागिएको हो । लोडसेडिङ सँधैका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानबिन गर्न आयोगमा निवेदन दिएको खुलासा भएको छ ।
घिसिङ, राजीव शर्मा, प्रबल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ६ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार स्रोतको भनाई छ । प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण तथा पारिवारिक सम्पत्ति विवरण (१३ पाने) फारम भर्न तल्लिन छन् । आजको नागरिक दैनिकले खबर छापेको छ।