प्रेम भाट
बैतडी, ६ पुस । प्रहरीले सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा चल्ने जीपको सिट निकाल्ने अभियान थालेपछि बैतडीका यात्रु भने दोब्बर भाडा तिर्न वाध्य भएका छन् । व्यवसायीले विगतमा थपेको सीट अनुसार भाडा लिन नपाए घाटा हुने भन्दै यात्रुसंग दोब्वर भाडा लिईरहेका छन् ।
पछिल्लो समयमा सुदूरपश्चिमका पहाडी जिल्लामा सवारी दुर्घटना वढ्न थालेपछि प्रहरीले विशेष सर्तकता अपनाएको छ । पिकअप जीपले क्षमता भन्दा वढी सिट राख्ने, ट्राफ्रिक नियम उल्लंघन गर्नेलाई ट्राफ्रिक प्रहरी कार्यालय बैतडीले कडाईको साथ कारबाही गर्न थालेको हो ।
यसरी प्रहरीले नियम विपरितका पिकअप जीपका सीट हटाउन थालेपछि यातायात व्यवसायीले भने यात्रुसंग मनलाग्दी भाडा लिईरहेका छन् । जीपका चालकहरुले गाउँगाउँ सम्म जाने यात्रुसंग मनपरी भाडा लिईरहेका हुन् ।
यता, व्यवसायीहरुले भने पछाडी जडान गरिएका सिटहरु हटाइएपछि आफुहरुको खर्च समेत नउठ्ने भएकाले बुकिङ गरेपछि मात्र जाने बाध्यता रहेको बताएका छन् । उनीहरुले कि थपेको सिटमा यात्रु वोक्न पाउनु पर्ने कि वढी भाडा लिन पाउनुपर्ने माग समेत गरेका छन् ।
इजाजत विनाका सिटहरु हटाई दुर्घटनाको जोखिम नियन्त्रण गर्नु प्रहरी प्रशासनको तारिफ गर्न लायक कार्य भएको स्थानीयहरुको भनाई छ ।