काठमाडौं, ३ पुस । एक करोड ५८ लाख ६० हजार रुपैयाँ । यो कुनै विकास बजेट होइन । काठमाडौं महानगरपालिका कार्यालयको वार्षिक बैठक भत्ता हो ।
महानगरले निर्धारितभन्दा निकै बढी भत्ता बाँड्ने गरेको छ । वर्षभरि कार्यालय खुलेको दिन हिसाब गर्दा बैठक भत्ता दैनिक ५५ हजार आठ रुपैयाँ हुन आउँछ । ३२ वडाका १५६ जवनप्रतिनिधिले प्रतिबैठक एक हजार दुई सय ३० रुपैयाँ लिएका हुन् । जबकि महानगरको वार्षिक प्रशासनिक बजेट व्यवस्थामा प्रतिबैठक एक हजार रुपैयाँ मात्र लिन पाइन्छ ।
महानगरका सूचना अधिकारी वसन्त आचार्यले प्रमुखको अध्यक्षतामा बसे प्रतिबैठक दुई हजार पाँच सय र उपप्रमुख र कार्यकारी अधिकृतको अध्यक्षतामा बसे दुई हजारका दरले पाइने बताए ।
वडा तहमा मासिक तीनवटासम्म बैठकको भत्ता लिन पाइन्छ तर, उनीहरूले कतिवटा बैठक बसे र कति–कति भत्ता बुझे, महानगरसँग कुनै अभिलेख छैन। बैठक भत्ता मात्र होइन खाजा र यातायातमा पनि महानगरको खर्च अचाक्ली छ। यी तीन शीर्षकमा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को विवरण माग्दा सुरुमा सूचना अधिकारी आचार्यले आलटाल गरेका थिए ।
याे खबर आजकाे कान्तिपुर दैनिकमा छ।