‘एकता नहुँदा कांग्रेस कमजोर’ | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

‘एकता नहुँदा कांग्रेस कमजोर’

congress Mahasamiti meeting

काठमाडौं, १ पुष । राजधानीमा कांग्रेस महासमिति भेला सुरु भएको छ । शनिबारको उद्घाटन समारोहमा सबै शीर्ष नेताले आन्तरिक एकता नहुँदा कांग्रेस कमजोर भएको स्वीकारेका छन् । गुटउपगुटमा अभ्यस्त नेताहरूले महासमितिमा भने आपसी एकताको अपरिहार्यतामा जोड दिए । राजधानीको बग्गिखानास्थित पार्टी प्यालेसमा सुरु भएको भेलामा बोल्दै सभापति शेरबहादुर देउवाले भने, ‘हामी सधैं सबै कुरामा विभाजित भइहाल्ने, अब पनि हामी एक भएनौं भने कसरी अगाडि बढ्न सक्छौं ? आजैदेखि सबै रिसराग असन्तोष त्यागेर एक हौं ।’

उनले कांग्रेसभित्र धेरै पहिलेदेखि आन्तरिक एकता नहुनुमा अनुशासन पनि प्रमुख प्रमुख कारक रहेको बताए । केन्द्रदेखि तल्लो तहसम्म अनुशासन कायम गर्न पनि देउवाले जोड दिए । ‘२०४६ पछि कांग्रेस एकपटक निर्वाचनमा सफल हुने र अर्कोपटक खस्कने रोग देखिनुको मुख्य कारण आन्तरिक समस्या नै हो’, उनले भने ।

देउवाले आफू नेतृत्वमा आएदेखि भएका कमीकमजोरी सुधारेर अघि बढ्ने पनि बताए । उनले भने, ‘मेरो गल्तीको आलोचना खुलेर गर्नुहोला । म सुधार गरेर अघि बढ्ने छु ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रमा मात्र होइन जिल्ला तहमा पनि एक–अर्कालाई छड्के हान्ने परम्परा रहेको भन्दै आन्तरिक एकतामा जोड दिए । उनले आफू केन्द्रमा पनि पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शी थिति बसाउन लागिपरेको बताए ।

‘गुटउपगुट मलाई मनै पर्दैन तर यो दलभित्र सधंै देखिन्छ’, उनले भने, ‘यसलाई नेतृत्वले व्यवस्थापन र सम्बोधन गर्न सक्नुपर्छ । बीपी कोइरालाकै पालामा समेत गुटउपगुट देखिएको थियो । पार्टी नेतृत्व गर्नेले यसलाई व्यवस्थापन गर्न सके र स्वच्छ आलोचना पचाउन सके पार्टी बलियो र लोकतान्त्रिक बन्नेछ ।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);