काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनकपुरकी बालिका निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाएका छन् ।
शनिबारदेखि काठमाडांैमा सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा कायम गराउन नसकेको सरकार स्वयम निर्मला पन्तको हत्यारा बचाउन लागि परेको आरोप लगाए ।
मुलुकभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्वीर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारका क्रियाकलाप सर्वत्र आलोचित भएको उनले उल्लेख गरे । संघीयता नै असफल बनाउने षडयन्त्रमा सरकार लागेको पनि उनले आरोप लगाए ।
वर्तमान सरकारले जनतालाई लोकतन्त्रको उपहारको रुपमा मंहगी दिएको, बुढी गण्डकी आयोजना निर्माणको जिम्मा विना प्रतिष्पर्धा सुम्पिएको, मिडियामा हस्तक्षेप बढेको भन्दै उनले त्यस विरुद्ध शसक्त प्रतिकार गर्नुपर्ने बताए ।
महासमिति बैठकबाट पार्टीलाई एकताबद्ध र संगठित बनाई बलियो प्रतिपक्षीको रुपमा मुलुकभर सरकारका क्रियाकलाप बिरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा पनि उनले जोड दिए । मुलुकका ठुला राजनीतिक परिर्वतनमा नेपाली कांग्रेसको ठुलो योगदान रहेको चर्चा गर्दै उनले आन्तरिक द्धन्द्धका कारण कतिपय अवस्थामा उम्मेदवारहरु पराजित हुनुपरेको यथार्थ भने स्वीकार गरे ।
पार्टी भित्र विधि र पद्धतिलाई बलियो बनाउन नसक्दा पार्टी कै आन्तरिक कारण र आन्तरिक द्धन्द्धले उम्मेदवारहरु पराजित हुनुपरेको र एक पटक जित्ने र अर्को पटक हार्ने काम हुँदै आएको पनि उनले उल्लेख गरे ।
उनले पार्टी भित्र अनुशासन कायम गर्दै विश्वास र एकताका साथ पुनः एक नम्बरको पार्टीमा स्थापित गराउने विश्वास व्यक्त गरे । पार्टीलाई मिलाएर लैजानुपर्छ र कसैले पनि पार्टी छोड्ने अवस्था नआओस् भन्नेमा नेतृत्व रहेको भन्दै उनले महासमिति बैठकले पार्टीलाई नयाँ उत्साह र उर्जा भर्ने विश्वास व्यक्त गरे ।