काठमाडौं, २६ मंसिर । विवाहपञ्चमीमा जन्तीका रुपमा प्रमुख अतिथि बनेका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सुरक्षाका लागि बुलेट प्रुफ गाडीको व्यवस्था गरिएको छ भने दिवा भोजमा ३६ व्यञ्जनको प्रवन्ध गरिएको छ ।
योगी आदित्यनाथ नौ सिट क्षमताको निजी विमान चढेर बिहान सवा १० बजे जन्तीका जनकपुर विमानस्थलमा उत्रिएपछि उनी कारगेड सुरक्षामा सीधै जानकी मन्दिर दर्शनका लागि जाने कार्यक्रम छ ।
अयोध्याबाट स्थलमार्गबाट जन्तीहरु जनकपुरधाम आउने परम्परा भएता पनि योगी भीआइपी पाहुनाका रुपमा विमानबाटै रामचन्द्र भगवानको ससुराली नगरमा उत्रिनेछन् ।
आदित्यनाथ आउनुअघि नै भारतबाटै बुलेट प्रुफ गाडी जनकपुर आइसकेको छ । यसबाहेक जामरसहित सातवटा अन्य गाडी पनि उनको सुरक्षाका लागि आइसकेको स्रोतले जनाएको छ । जामरले वरपरको क्षेत्रमा मोबाइल नेटवर्कलाई जाम गरिदिन्छ ।