बासुदेव वडु
दार्चुला, २३ मंसिर । पछिल्लो समयमा देशका विभिन्न स्थानमा सवारी दुर्घटनाको संख्या बढीरहेका वेला दार्चुलामा पनि त्यही अवस्था देखिएको छ । कच्ची सडक, चालकको लापरबाहीका कारण दुर्घटना वढेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मंसिर ७ गते मालिकार्जून गाउँपालिकाबाट दार्चुला सदरमुकामा आउँदै गरेको म १ ख ४३६ नम्बरको बस दुर्घटना भयो । दुर्घटनामा १ जनाको मृत्यु भयो भने १८ जना घाइते भए । त्यसैगरी, गत असोज ३० गते महेन्द्रनगरबाट दार्चुला हिँडेको बस दुर्घटना हुँदा ५ जना घाईते भए । यी दुवै दुर्घटनाको मुख्य कारण कच्ची सडक र चालकको लापरवाही भएको देखिएको छ ।
पछिल्लो समयमा जीपहरुले सिट क्षमता भन्दा वढी यात्रु वोक्ने, ट्राफ्रिक निमयको पालना नगर्दा पनि दार्चुलामा सवारी दुर्घटनाको संख्या बढेको यात्रुहरुले बताएका छन् ।
अहिले दार्चुला राजमार्ग अन्तर्गतको गोकुलेश्वर सडक ७६ किलोमिटर लम्बाई मात्र कालो पत्रे छ । तर, उकु सडक खण्ड, दार्चुला तिंकर सडक खण्ड, गोकुलेश्वर—देथला सडक खण्ड, गोकुलेश्वर—लटिनाथ—पारिबगर सडक खण्ड निर्माणधिन कच्ची सडक हुन् । यी सडकहरुमा सामान ढुवानीका लागि ट्रक्टर र जीप संचालित रहेका छन् ।
सडक स्तरोन्नती नहुनु, चालकको लापरवाही, सडकको मोड नमिल्नु, भौतिक विकटता, सडकममा गुणस्तर काम नहुन पनि सडकको दुर्घटनाको अर्काे कारण भएको यातायात व्यवसायी तथा चालकहरु बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरणका लागि विभिन्न कार्यक्रम समेत ल्याएको छ । जस अनुसार वढी सिट र छत राखेर चलाएमा हटाउने अभियान शुरु गरेको छ । त्यसवाहेक पनि बेला बुलामा छड्के चेकिङ समेत प्रहरीले गदै आएको छ । तर, सवारी चालकहरुले बीचमा यात्रु हाल्ने, चर्काेभाडा लिने गरेका कारण न्यूनीकरणमा उल्लेखनिय सुधार नभएको प्रहरीको भनाई छ ।




