कुपोषणका कारण ५ बर्ष मुनिमा ८५ हजार बालबालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कुपोषणका कारण ५ बर्ष मुनिमा ८५ हजार बालबालिकाको मृत्यु

एजेन्सी, ५ मंसिर । यमनमा तीन वर्षदेखि हिंसा जारी रहेको छ । जारी हिंसाको मारमा सबैभन्दा बढी बालबालिका परेका छन् । यमनमा धेरै बालबालिका पर्याप्त मात्रामा खान नपाएर ज्यान गुमाउन बाध्य भएका रिर्पोटहरु सार्वजनिक भएका छन् ।

यमनमा तीन वर्षदेखि जारी हिंसाको क्रममा ८५ हजारको हाराहारीमा पाँच वर्षमुनिका बालबालिकाको कुपोषणका कारण ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सहयोगी संस्था सेभ द चिल्ड्रेनले जनाएको छ ।

गएको महिना संयुक्त राष्ट्रसंघले यमनमा एक करोड ४० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो । यमनमा जारी हिंसाले निकै खराब मानवीय संकट उत्पन्न भएको संयुक्त राष्ट्रसंघ सहितका संस्थाले बताएका छन् ।

जारी हिंसा अन्त्य गर्न प्रयास भइरहेको छ, तर अहिलेसम्म सफल हुन सकेको छैन । हिंसाका कारण यमनको ठूलो क्षेत्र पूर्ण रुपमा पुनर्निर्माण गर्नु पर्ने गरी ध्वस्त भएको छ ।

हुथी बिद्रोहीविरुद्ध साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ मा यमनमा हवाई आक्रमण सुरु गरेको थियो । हुथी बिद्रोहीले यमनका राष्ट्रपति मन्सुर हादीलाई विस्थापित गरेपछि साउदी अरेबियाले आक्रमण थालेको हो ।

संयुक्त राष्ट्रसंघका अनुसार यमनमा तीन वर्षदेखि जारी हिंसाका कारण अहिलेसम्म कम्तिमा ६ हजार ८ सय सर्वसाधारणको ज्यान गएको छ । यस्तै १० हजार ७ सय भन्दा बढी घाइते भएका छन् ।

जारी हिंसा तथा गठबन्धन सेनाले बिभिन्न क्षेत्रमा गरेको नाकाबन्दीका कारण दुई करोड २० लाख भन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको छ । यमनमा अहिले विश्वकै सबैभन्दा ठूलो खाद्य आपतकालको अवस्था छ ।

यस्तै हैजाको महामारीका कारण १२ लाख मानिस प्रभावित भएका छन् । यमनमा भएको हिंसाका कारण ज्यान गुमाउनेको यकिन तथ्यांक लिन अप्ठ्यारो छ । हिंसासँग जोडिएका धेरै मृत्युहरुको तथ्यांक नै नरहेको सहयोगी संस्थाहरुले बताएका छन् ।

यसको प्रमुख कारण देशका आधा मात्रै स्वास्थ्य संस्था अहिले सेवा दिन सक्ने अवस्थामा छन् । यस्तै धेरै मानिससँग अस्पताल जान चाहिने पैसा पनि नरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

युद्धका कारण यमनी मुद्राको मूल्य घट्नु र खाद्यान्नको मूल्य बढ्दै जानुले धेरै परिवार भोकमरीको जोखिममा रहँदै आएका छन् । यमनमा यदी कुपोषणको समयमै उपचार भएन भने २० देखि ३० प्रतिशत बालबालिकाको हरेक वर्ष ज्यान जाने विज्ञहरुले बताएका छन् ।

कुपोषणका कारण मृत्यु हुने बालबालिकाको शरीरका मुख्य अंगले काम गर्न छोड्ने र अन्ततः मृत्यु हुने गरेको छ । कुपोषित बालबालिकाको प्रतिरोधात्मक क्षमता निकै कमजोर हुने गर्छ । उनीहरु रुन पनि नसक्ने अवस्थामा हुन्छन् । अभिभावकहरु आफ्ना सन्तान कष्टले मर्दै गरेको टुलुटुलु हेरेर बस्न बाध्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);