काठमाडौं, २५ कात्तिक । सम्बन्धविच्छेदपछि मानसिक समस्या भोगिरहेकी स्याङ्जाकी भगवती पौडेल केही दिनअघि उपचारका लागि पाटनस्थित मानसिक अस्पताल पुगिन् । अस्पतालमा टिकट शुल्क कतै टाँसिएको देखिनन् । साथमा गएका छोरा आशिष पौडेलले टिकटबारे काउन्टरमा सोधपुछ गरे ।
टिकट शुल्क ४ सय रुपैयाँ भनेपछि उनी अचम्म परे । उनले भने, ‘सरकारी अस्पतालमा पनि टिकटको ४ सय लिइँदो रहेछ, ४ सय तिरेर ४ घण्टा कुरेपछि बल्ल डाक्टर भेटिए, तर जम्मा ३ मिनेट मात्रै समय दिए ।’ पहिलो दिन महँगो शुल्क तिरेपछि हरेक फलोअपमा पनि ४ सय खर्च हुँदा पौडेल परिवार दु:खी छ । ‘लामो समय उपचार गर्नुपर्छ रे, कहिलेसम्म निजी अस्पतालमा जस्तो धेरै पैसा खर्च गर्नु,’ पौडेलले भने ।
मानसिक अस्पतालमा साधारण ओपीडी शुल्क ४० रुपैयाँ हो । पौडेलले काटेको टिकट विस्तारित ओपीडी सेवाको थियो । सरकारी अस्पतालमा ४ बजेपछि दिइने ‘पेइङ क्लिनिक’ विस्तारित ओपीडी सेवा हो । यस्तो सेवा शुल्क साधारणभन्दा महँगो हुन्छ । विशेषगरी सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अभ्यासतर्फ आकर्षण घटाउन सरकारले यस्तो सेवा चलाएका हो ।
तर, अस्पताल प्रशासनले बिहानैबाट ‘पेइङ क्लिनिक’ को टिकट बेच्न थालेपछि सोझासाझा बिरामी मारमा पर्ने गरेका छन् । राजधानीको वीर अस्पताल, ट्रमा सेन्टर र प्रसूति गृहमा पनि यस्तो सेवा सञ्चालनमा छ । बेलुका मात्रै हुनुपर्ने यस्ता सेवाको टिकट बिहानै काटिन थालेपछि महँगो शुल्क तिर्न बाध्य भएकोबिरामी सुनाउँछन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।