काठमाडौं, १९ कात्तिक । २० वर्षअघि विशाल बजारमा रिद्धिसिद्धि ज्वेलर्स सञ्चालनमा आउँदा यहाँका अधिकांश व्यवसायीलाई धनतेरसमा बत्ती बाल्नुपर्छ, गरगहनाका सोरुम सजाउनुपर्छ भन्ने थाहा थिएन।
रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्र गुप्ता भन्छन्, ‘व्यवसायीले लक्ष्मी पूजाका दिनमात्रै बत्ती बाल्थे, सजाउने प्रचलन थिएन। अन्य दिन बजारमा अहिलेजस्तो चहलपहल हुन्नथ्यो।’ २०५४ सालमा रिद्धिसिद्धिले पहिलोपटक ग्राहकसँग मिलेर धनवन्तरी दिवस मनायो। त्यसपछि यसको प्रभाव बजारमा देखिन थाल्यो। अहिले विशालबजारमा सबै सुनचाँदी सोरुम एकै किसिमले सजिन थालेका छन्।
ग्राहकको उपस्थिति बाक्लै हुन्छ। प्रचारप्रसार हुन थालेपछि अघिल्ला वर्ष सुन र अन्य धातुका सामान किन्ने ग्राहकको आकर्षण चाँदी र हीरामा पर्न थालेको छ। सुन या अन्य धातुका गरगहना धनतेरसमा किन्ने प्रचलन परम्परागत भए पनि चाँदीमा उपभोक्ताको आकर्षण थिएन। हीराका ग्राहक थोरै थिए। दुई दशकको अन्तरालमा बजारले ठूलो फड्को मारेको छ। प्रचारप्रसारपछि उपभोक्ता सचेत भएका छन्।
‘तिहारमा खरिद गरेको सुनचाँदी र अन्य धातुका सामान टिकाउ हुनुका साथै थप सम्पत्ति आर्जन भइ घरमा लक्ष्मीले बास गर्ने र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ’ ,उनले भने, ‘धनतेरसमा रिद्धिसिद्धि आउने ग्राहकलाई मनैदेखि सुख र समृद्धिको कामना गर्दै उपहारसहित खुसी बनाएर पठाउने गरेका छौं।’
उपभोक्ता समृद्ध भएमात्र व्यवसाय चल्ने हो। उनले थपे ,‘वर्षभरि आफ्ना लागि व्यापार गरे पनि धनतेरसका दिन उपभोक्ताको समृद्धिको कामना गर्दै विशेष छुटका साथ गरगहना बिक्री गर्छौं।’ सुनकै दाममा हीरा पाउन थालेपछि चाँदीको सट्टा धनतेरसको हीरा किन्ने ग्राहक बढ्दै गएको उनले सुनाए।
धनतेरस र लक्ष्मी पूजालाई लक्ष्य गरी औद्योगिक घरनाले पनि सरसफाइदेखि साजसज्जामा विशेष ध्यान दिने गरेको पाइन्छ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले घरमा सामान्य परम्परागत हिसाबले धनतेरस र लक्ष्मी पूजा मनाए पनि कार्यालयमा भने विशेष र ठूलो पूजा हुने बताए। ‘लक्ष्मी पूजाका लागि चाँदीका एक÷दुई सिक्का किन्ने प्रचलन छ’, उनले भने, ‘माता लक्ष्मीलाई सेतो धातु चढाउँदा फलिफाप हुन्छ भन्ने पौराणिक मान्यता छ।’
सन्राइज बैंकका अध्यक्ष मोतीलाल दुगडले धनतेरसका दिन चाँदी किन्ने परम्परा पहिलादेखि कै भएको बताए। जैन समाजले चाँदी किन्छ। अन्य माडवाडीले सुन र चाँदी दुवै किन्छन्। हाडिगाउँकी मीना श्रेष्ठले धनतेरसका दिन चाँदीको थाली किन्न दसैंमा आएको आफ्नो पेन्सन बचाएर राखेकी छन्। करिब ३० हजारसम्मको चाँदीको थाली किन्न पहिलानै पैसा छुट्टयाएको उनले बताइन्। ‘पहिला यस्तो सचेतना थिएन’, उनले भनिन्, ‘हाल प्रत्येक वर्ष उक्त दिन चाँदीका एक न एक भाँडा तथा विशेष पूजामा प्रयोग हुने सामग्री किन्ने गरेकी छु।’
बल्खुका वशुन्धरा केसीले यस वर्ष तिहारमा करिब पाँच लाखसम्मको हीराको हार किन्ने बजेट तयार पारेकी छन्।
लाजिम्पाटकी रोशनी शाह आफ्नो पुरानो हीराको हार साट्ने तयारीमा छन्। बजारमा हीरा व्यवसायीले प्रयोग गरिएका हीराका गरगहना किन्दा १० र साट्दा पाँच प्रतिशतसम्म मूल्य घटाएर लिने गरेका छन्। कलंकीका रामेश्वर खड्काले तिहारका लागि तामाका साना दुई खड्कुला र चाँदीको असर्फी किन्ने तयारी गरेका छन्।
हरेक वर्ष कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन अर्थात् धनवन्तरी त्रयोदशीका दिन काग तिहार मनाइन्छ। काग तिहारको दिनलाई धनतेरस पनि भन्ने प्रचलन छ। यो दिनलाई धनका देवता कुबेरको जन्मदिन र आयुर्वेदका प्रवद्र्धक धनवन्तरी दिवस पनि हो। यस दिन नयाँ भाँडा तथा सरसामान जोडेमा घरमा समद्धि हुने धार्मिक मान्यता छ। यस कारण अधिकांश नेपालीले क्षमताअनुसार नयाँ भाँडा, सुनचाँदी र हीरा खरिद गर्ने प्रचलन मौलाउँदै छ।
तिहारको अवसर पारेर खरिद गरेको सुनचाँदी र धातुका सामान टिकाउ हुनुका साथै थप सम्पत्ति आर्जन हुने विश्वास गरिने नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्य बताउँछन्। ‘विशेष गरेर तिहारको पहिलो दिन काग तिहार तथा धनतेरसका दिन चाँदी किनेर लक्ष्मी पूजाका दिन माता लक्ष्मीलाई चढाउने चलन छ’, शाक्यले भने ,‘उपभोक्ताले त्यस दिन आफ्नो क्षमताअनुसार सुन, चाँदी, हीरा र अन्य धातुका सामान घर भिœयाउने गर्छन्।’ सामान्य समयभन्दा तिहारका पाँच दिन चाँदीको व्यापार अत्यधिक हुन्छ। हाल दैनिक दुई सय किलोदेखि दुई सय ५० किलो चाँदी खपत हुँदै आएको छ।
तिहारको एक साताअघिदेखि नै चाँदीको व्यापार दोब्बर हुन्छ। तर, यस वर्ष सुनको भाउ बढेकाले चाँदी किन्नेसमेत नभएको वरिष्ठ अध्यक्ष शाक्यले बताए। ‘बजार सामान्य अवस्थामा छ’, उनले भने, ‘व्यवसायीले तिहार आएको महसुस गर्न पाएका छैनन्। यस वर्ष शनिबारसम्म खासै चाँदीको व्यापार नबढेको देख्दा उपभोक्तामा उत्सवको उत्साह नदेखिएको उनले बताए।
धनतेरसमा नयाँ भाँडा र गहना जोडेमा घरमा समद्धि हुने धार्मिक मान्यता छ। विशेषगरी काग तिहारका दिन चाँदी र यसबाट निर्मित सर–सामान किन्नाले फलिफाप हुने धार्मिक मान्यता छ। धनकी देवी महालक्ष्मीलाई सेतो वस्तु मनपर्ने भएकाले तिहारमा चाँदी किन्ने चलन हो। हिन्दु धर्ममा यमपञ्चक ९तिहार०मा धातु चढाउने पुरानो मान्यता भएको शाक्यले बताए। आफ्नो क्षमताअनुसार उच्च वर्गले सुनको असर्फी नै लक्ष्मीमातालाई चढाउँछन् भने मध्यम तथा निम्नमध्यम वर्गीय परिवारले चाँदी र चाँदीबाट बनेका सामान चढाउँछन्।
धनतेरसमा चाँदी किनेर मातालक्ष्मीलाई चढाउँदा धन सम्पत्ति बढ्ने जनविश्वास छ। रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्रकुमार गुप्ता पछिल्लो समय धनतेरसका दिन सुनचाँदीका गरगहनामात्रै नभएर हीराको गहनामा पनि उपभोक्तको आकर्षण बढेको बताउँछन्। ‘मातालक्ष्मीको पूजामात्र नभएर पछिल्ला वर्ष धनतेसर तथा अक्षय तृतीयाका दिनमा विवाहका लागि गरगहना अडर गर्ने तथा खरिद गर्ने परम्परा पनि बढ्दै छ।
अन्य सामान्य समयमा धनतेरसका दिन सुनको ज्यालामा ३० र हीरामा ३५ प्रतिशत छुट दिएको कारण व्यापार पाँचगुणा बढ्ने गरेको गुप्ताले बताए। गुप्ताका अनुसार सामान्य समयमा दैनिक ५० लाखको व्यापार हुने सुन तथा हीराका गहना धनतेरसका दिन साढे दुई करोडभन्दा माथि पुग्ने गरेको छ।
काग तिहारका दिन चाँदीका सामग्री किन्नाले विशेष फलिफाप हुने जनविश्वास भारतीय सञ्चारमाध्यम र नेपालमा भित्रिएको भारतीय मूलका व्यापारीबाट ओसारपसार हुन थालेपछि नेपालीले पनि त्यस दिन चाँदीका भाँडाकुँडा किन्नेको आकर्षण बढ्दै गएको सुनचाँदी व्यवसायी बताउँछन्। यमपञ्चकका अन्य दिन सुन तथा अन्य धातुबाट निर्मित सामान किने पनि यस दिन भने चाँदी नै किन्ने प्रचलन पछिल्लो समय बढ्दै गएको छ।
सामान्य समयको तुलनामा तिहारमा चाँदीका सामानको बिक्री तीन गुणाले बढी हुने गरेको छ। अन्य समयमा दैनिक साढे दुई सय किलो चाँदी बिक्री हुने गरेकामा तिहारको कागतिहारका दिन चाँदीको बिक्री उल्लेख्य हुने गरेको शाक्यले बताए। ‘उक्त दिन सुनको व्यापार त्यति हुँदैन’, उनले भने, ‘सबै ग्राहकले चाँदीका सामान मात्र किन्छन्।’
पञ्चकमा धातुका सामान किन्ने नेपालीको पनि पहिलेदेखि परम्परा थियो। पछिल्ला वर्ष धातुमा पनि सुन र चाँदीमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ। तिहारमा विशेषगरी चाँदीको दियो, पूजाको थाली, घण्टा, करुवा, आरती, सुकुन्दा, चाँदीको लक्ष्मी–गणेशको मूर्ति कुँदिएका असर्फी र लक्ष्मी तथा लक्ष्मीनारायण र गणेशको मूर्तिलगायत सामान बढी बिक्री हुने गरेको छ।
पञ्चक लागेपछि उच्चवर्गले सुनको असर्फी नै लक्ष्मीलाई चढाउन किन्ने गरे पनि मध्यम र निम्नमध्यमवर्गले पूजामा प्रयोग हुने चाँदीका सामान किन्ने गरेको पाइन्छ। ‘सुन र चाँदीका सामानमध्ये कुन किन्ने भन्ने उपभोक्ताको क्रयशक्तिमा भरपर्छ’, उनले भने। औसतमा दैनिक साढे दुईस य किलोभन्दा चाँदी बिक्री भए पनि दसैंदेखि नै यसको व्यापारमा वृद्धि हुँदै जाने गरेको गहना निकुञ्जका सञ्चालक माणिकरत्न शाक्यले बताउँछन्।
तिहारको यस्तै प्रचलन र परम्पराले गर्दा घरेलु उद्योगका रूपमा स्थापित भाँडाकँुडा व्यापार व्यवसायको समेत यो अवसरमा उल्लेख्य कारोबार हुने गरेको छ। धेरैजसोले यो दिनको अवसर पारेर तामा, पित्तलजस्ता धातुका सानो करुवा, गिलास, थाल, खड्कुलोजस्ता सामग्री खरिद गर्ने गरेकाले घरेलु उद्योगका रूपमा स्थापित भाँडाकँुडा व्यापार व्यवसायको कारोबार उल्लेख्य हुने गरेको हो।
इन्द्रचोकमा तामा र पित्तलका भाँडा बेच्ने सुवोध राणाका अनुसार तिहारमा पूजा र अन्य घरयासी प्रयोजनमा प्रयोग हुने भाँडाकुँडाको माग बढेको छ। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।