शिक्षकलाई सामाजिक सञ्जालमा अंकुश | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

शिक्षकलाई सामाजिक सञ्जालमा अंकुश

social-media

काठमाडौं, १७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ  ।

मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाइबरजस्ता सामाजिक सञ्जाल आफूखुसी प्रयोग गर्न रोक लगाएको हो ।

कात्तिक १३ गते स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागू हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रूपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्बिरसमेत सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख छ ।

त्यस्तै, कुनै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सहभागीले मोबाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न नपाइने भनिएको छ ।

कुनै कारणवश खिचेमा स्वीकृति नलिई सामाजिक सञ्जालमा राख्न, टिप्पणी गर्न र लाइक गर्नसमेत रोक लगाइएको छ । क्यामेराले फोटो खिच्न पाइने वा नपाइने विषयमा भने मार्गनिर्देशन मौन छ । बिनाअनुमति अपलोड, टिप्पणी, लाइक र सेयर गरे प्रतिलिपि अधिकार र व्यक्तिगत गोपनीयताको हकविरुद्ध कार्य गरेको भनी आवश्यक कारबाही अघि बढाउने मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयको मार्गनिर्देशनले शिक्षक–कर्मचारीको व्यक्तिगत स्वतन्त्रता हनन हुने विज्ञहरूले बताएका छन् । ‘यसले मान्छेलाई दास बनाउन खोजेको छ,’ अधिवक्ता बाबुराम अर्यालले भने, ‘धेरै बुँदा व्यक्तिगत स्वतन्त्रता हनन हुने खालका छन्, प्रजातान्त्रिक मुलुकमा यस्तो सुहाउँदो हुँदैन ।’

मन्त्रालय मातहत कर्मचारी, विद्यालय तथा विश्वविद्यालयका शिक्षक–कर्मचारीलाई सामाजिक सञ्जालको आफ्नो व्यक्तिगत पेज/एकाउन्टमा इच्छाअनुसार तस्बिर राख्न यसले रोक लगाएको छ । मार्गनिर्देशनमा सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्दा प्रोफाइलमा वास्तविक फोटो राख्नुपर्ने र प्रोफाइल विवरण साँचो हुनुपर्ने उल्लेख छ ।

मन्त्रालय र मातहतका निकायले गरेका काम–कारबाहीमा चित्त नबुझे टीकाटिप्पणी गर्न वा नकारात्मक सूचना, समाचार प्रकाशित भए कर्मचारीले लाइक, सेयर र कमेन्ट गर्न प्रतिबन्ध लगाइएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);