काठमाडौं, १४ कात्तिक । प्रतिनिधि सभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्ययनका लागि गठित उपसमितिलाई आफनो प्रतिबेदन छिटो समितिमा पेश गर्न सचेत गराएको छ ।
बुधवार सिंहदरवारमा बसेको समितिको बैठकले उपसमितिलाई आफनो प्रतिबेदन छिटो समितिमा पेश गर्न सचेत गराएको हो । बैठकमा समितिका सदस्यहरुले समितिको कामकार्वाहीलाई प्रभावकारी बनाउने गरी वार्षिक कार्ययोजना बनाउनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।
समितिका सदस्य योगेश भट्टराईले समितिको कामलाई प्रभावकारी बनाउने गरी वार्षिक कार्ययोजना बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।
समितिका अर्का सदस्य खगराज अधिकारीले स्रोत र साधनलाई हेरेर सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिएका छन् । उनले समितिले दिएका निर्देशन पालना हुने खालको हुनुपर्ने पनि स्पष्ट पारे ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको छिटो स्वास्थ्यलाभको कामना समेत गरेको थियो । समितिको अर्काे बैठक मंसीर २ गते आईतबार बोलाइएको छ ।