रिसाउँछन् भीरमौरी | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

रिसाउँछन् भीरमौरी

mahuri

लमजुङ, ११ कात्तिक । पारिपट्टि छंगाछुर भीरमा गाउँले मह काढ्दै छन् । वारिपट्टि हेर्नेको भीड  ।
एक्कासि भीरमौरी आएर चिल्न थाल्छ, हेर्नेहरूको भागाभाग हुन्छ ।स्याँगे झरनानजिकै छोवली भीरमा शुक्रबार मह काढ्न जम्मा भएका मिप्रा गाउँका ६० घरका स्थानीयलाई मौरीले लखेट्यो ।

२५ वर्षदेखि मह काढ्दै आएका ५५ वर्षीय डिलबहादुर गुरुङलाई हिजोआज मौरीको हूल रिसाएको देख्दा अचम्म लाग्छ । ‘हाम्रो बानी बिग्रेकाले रिसाएका होलान्,’ उनले भने, ‘आजकल जथाभावी मह काढ्न थालिएको छ । आधुनिक औजार प्रयोग गरिएको छ । भीरमै गएर घनछिनोले कोपेर जाने बाटो बनाइएको छ ।’

सिकारी पनि सादा पोसाकमै गएर मह काढ्थे । हिजोआज बाक्लो लुगा, पन्जा र अनुहार ढाकिने जाली लगाउँदा पनि टोक्ने गरेको छ । ‘अचेल किन हो कुन्नि, मह काढ्न थालेपछि मौरीले लखेटेर हैरान पार्छ,’ मस्र्याङ्दीगाउँपालिका ४, ताघ्रिङ मिप्राकी चन्द्रकुमारी गुरुङले भनिन्, ‘पहिले–पहिले यस्तो गर्थेन ।’

मह काढ्दा परम्परागत रूपमा प्रों (निगालोको चोयाबाट निर्मित डोरी) प्रयोग गर्ने र मौरीलाई अघिपछि नचलाउने गर्दा पहिला केही सजिलो थियो । ‘चिसो स्याउलामा धूवाँ निकालेर
मौरीलाई विस्तारै पाखा लगाउनुपर्छ,’ उनले भने, ‘चोखोनितो गरी सिमेभूमे (प्रकृति) पूजापाठ गरेपछि काढ्ने विधि सबैले मानिदिए नरिसाउलान् कि ’

गाउँलेले शुक्रबार परम्परागत ढंगबाटै भीरमह निकालेका हुन् । ४८ वर्षीय राजकुमार गुरुङले धूप बालेर भीरको कुनामा पूजापाठ गरेपछि परम्परागत तवरबाट भीरमह काढ्ने कार्यक्रम सुरु भएको हो । ‘पहिले साधारण लुगा मात्रै लगाएर बाउबाजेले मह काढ्थे, हामीलाई दह्रो लुगा चाहिन्छ,’ उनले भने, ‘हामी परम्परागत रूपमा मह काढ्न चाहन्छौं । त्यसो गर्न सके भीरमौरी जोगिन्छ ।’
धेरै मौरी रिसाउने गरी काढ्दा नास हुने उनले बताए । परम्परागत रूपमा काढ्दा मौरी एक हूल भएर पाखा लाग्छ । अर्को वर्ष त्यही अर्को ढिक्काले नयाँ चाका बनाउँछ । ‘मौरी जोगाउन परम्परागत रूपमा मह काढ्ने कोसिस गरिरहेका छौं,’ उनले भने । राजकुमार र डिलबहादुरसँगै भीरमा मीनबहादुर गुरुङ र कुमबहादुर गुरुङले यसपटक मह काढे ।

वडाध्यक्ष सुमन गुरुङका अनुसार वर्षमा दुई पटकसम्म उक्त भीरमा मह काढ्ने गरिएको छ । वैशाख, जेठ र मंसिरमा स्थानीयले मह काढ्छन् । ‘भीरको मह काढ्ने हाम्रो पुरानो परम्परा हो,’ उनले भने, ‘अब पहिले–पहिले जसरी जतासुकै भीरमा मह भेटिँदैन ।’ यस पटक घुम्न आइपुगेका दुईजना भारतीय नागरिकले फोटो र भिडियो खिच्छौं भनेर मह काढ्ने टोलीलाई ७० हजार रुपैयाँ दिए । मह संकलनको जोखिमपूर्ण तरिकाका दृश्य उनीहरूले कैद गरे । चार लिटर मह निस्कियो । पर्यटकले मह पनि चाखे ।

निगालोको चोया बाटेर बीचबीचमा काठ प्रयोग गरी बनाइएको भर्‍याङ (प्रों) मा झुन्डिएर मह काढिन्छ । मह सिकारी डिलबहादुरका अनुसार ज्यानको माया मारेर मह काढ्नुपर्छ । ‘भीरको माथ्लो ठाउँको रूखमा बाँधेर तल फालिएको डोरीमा झुन्डिएर मह काढदा कहिलेकाहीं खसिन्छ जस्तो हुन्छ,’ उनले भने, ‘हामी परम्परा धान्न बाउबाजेले गर्दै आएको काम गर्दै छौं ।’ उनका अनुसार भीर डरलाग्दो हुन्छ ।

मौरीले टोक्ने डर पनि उत्तिकै । ‘पहिले–पहिले निकै डर लाग्थ्यो, अहिले बानी परेको छ, खासै डर लाग्दैन,’ उनले भने, ‘तर यो साहसको काम हो । जो कसैले हिम्मत गर्न गाह्रो पर्छ ।’ उनका अनुसार लोप हुन लागेको मह काढ्ने चलन बिस्तारै नयाँ पुस्तामा हस्तान्तरण हुँदै छ । हाडजोर्नी, ज्यान दुख्ने, समयमा निद्रा नलाग्ने र निद्रा बढी लाग्ने समस्या भीर महले राहत दिने स्थानीय बताउँछन् । आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);