काठमाडौँ, १० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी ढंगले १ सय ८४ नेपाली महिलालाई घरेलु कामदारका रूपमा विदेश पठाएको आरोपमा वैदेशिक रोजगार विभाग र मातहत कार्यालयका ६ शाखा अधिकृतसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
उनीहरूले बिचौलियासँग मिलेमतोमा बिनाभिसा एवं नक्कली श्रमस्वीकृतिलगायत कागजातका आधारमा ती महिलालाई पठाएको आयोगको दाबी छ ।
आयोगले व्यक्तिगत स्वार्थ र अनुचित लाभका लागि महिलाहरूलाई शारीरिक तथा मानसिक यातनालगायत आर्थिक नोक्सानी पुग्ने र राज्यको आधिकारिक निकायमा समेत गलत लगत खडा गरी विदेश पठाएको भन्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकामा वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका शाखा अधिकृतहरू हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेशविक्रम शाह, दिनेशकुमार राई, पवित्रा श्रेष्ठ, रामप्रसाद ओली, नायब सुब्बाहरू अमरराज जोशी, विष्णुहरि निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुसाल, नगेन्द्रप्रसाद गौतम, रवीन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री, केशवराज ढुंगाना र कम्प्युटर अपरेटरहरू अमर महरा, चक्रबहादुर पराजुली, डम्बरबहादुर विश्वकर्मा, धनवीरसिंह भाट र राजकुमार शाही छन् । उनीहरू हाल विभागबाट सरुवा भइसकेका छन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।