डाक्टर बन्न नागरिकता तगारो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

डाक्टर बन्न नागरिकता तगारो

nagarikta tagaro

नेपालगन्ज,  १० कात्तिक ।  नेपालगन्ज–८ सदरलाइनका अजहर हुसेन फारुकी (१९)ले लगातार दुई वर्ष एमबीबीएस पढ्न नाम निकाले । अघिल्लो वर्ष काठमाडौं विश्वविद्यालय र पछिल्लो पटक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाएको अवसरमा बाधा बन्यो, नागरिकता ।

उनकी आमा परमिनको वंशज र बाबु अतहर हुसेनको अंगीकृत नागरिकता छ । तर, उनलाई जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकता दिन मानेको छैन । ‘एमबीबीएस पढेर डाक्टर बन्ने सपना दुईपटक चकनाचुर भइसक्यो’, उनले भने, ‘दुई वर्ष त्यत्तिकै खेर गयो । अझै कहिले नागरिकता पाउने हो ? कुनै ठेगान छैन ।’

नेपालगन्ज–११ की रोशनी सोनी (१८)ले पनि नागरिकता नभएकै कारण एमबीबीएस पढ्ने अवसर गुमाइन् । २०७२ सालको एसएलसीमा बाँके जिल्ला ‘टप भएको’ बताउने सोनी त्यसपछि कक्षा ११ विज्ञान संकायतर्फ ‘टप टेन’मा उत्तीर्ण भइन् । उनले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको एमबीबीएसको छात्रवृत्ति कोटा नागरिकताकै कारण गुमाइन् । ‘दुवै विश्वविद्यालयको प्रवेश परीक्षामा नाम निस्कियो तर छात्रवृत्तिमा नागरिकता नहुँदा छुट्यो’, उनले भनिन् । उनकी आमा रेखाको अंगीकृत र बाबु सन्तोषकुमारको वंशजको नागरिकता छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकता नदिएपछि फारुकी र सोनीले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दायर गरे । अदालतले उनीहरूकै पक्षमा फैसला गरेको छ तर जिल्ला प्रशासनले कार्यान्वयन नगरेको उनीहरूको गुनासो छ । ‘अदालतले फैसला गरेर मात्र हुन्छ ? उसैले नागरिकताका ठेली लगेर बाँडे भैगो नि !’, जिल्ला प्रशासनका अधिकृतको रुखो भनाइ उद्धृत गर्दै सोनीका बाबु सन्तोषकुमारले भने, ‘अदालतको फैसलाभन्दा गृह मन्त्रालयको एक परिपत्र ठूलो कानुनजस्तो भएको छ । मैले एक मात्र सन्तान छोरीका नाममा सम्पत्ति गर्न सकिनँ भने आर्जन गरेर पनि के काम भयो ? ’

नेपालगन्ज–८ की तरनु खानको समस्या अलिक फरक छ । दुई दिदीको नागरिकता बनेको छ तर उनको भने जिल्ला प्रशासनले बनाउन मानेको छैन । ‘दुई दिदीको नागरिकता बन्यो, मेरो किन बन्दैन पनि भनें तर मानेनन्’, उनले भनिन् । सात महिनादेखि जिल्ला प्रशासन धाउनुपरेको पीडा उनले सुनाइन् । व्यवस्थापन संकायमा ‘प्लस टु’ उत्तीर्ण उनी घरको कमजोर आर्थिक अवस्थाका कारण जागिर खाँदै पढ्न चाहिन्छन् । तर, नागरिकताकै कारण बैंक, गैरसरकारी संस्थालगायत ठाउँमा जागिर नपाइएको उनको दुखेसो छ । ‘एउटा प्रोजेक्टमा जन्मदर्ताको कागजात पेस गरेर दुई महिना जागिर खाएँ’, उनले भनिन्, ‘जागिर खाएपछि नागरिकता बनिहाल्छ भनेर ढुक्क थिएँ, नागरिकता नबन्दा जागिर नै गयो ।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);