छठपछि लाइसेन्सको आवेदन खुल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

छठपछि लाइसेन्सको आवेदन खुल्ने

smart licence

काठमाडौं, १० कात्तिक । दशैंअघि बन्द गरिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन छठ पछि मात्र खुल्ने भएको छ । लिखित परीक्षामा उत्तीर्ण गरी ट्रायलमा अनुत्तिर्ण भई पुनः ट्रायल (रिट्रायल) दिनेहरूको सङ्ख्या बढेपछि छठ सम्मका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

दशैं, तिहार तथा छठ पर्वको अवसरमा सरकारी विदा पनि हुने भएकाले यसबीचमा रिट्रायलको काम सक्ने गरी काम गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार पहिलो पटक ट्रायल दिनेहरूमध्ये जम्मा ४० प्रतिशत मात्र उत्तीर्ण हुन्छन् । बाँकी ६० प्रतिशतले तीन पटकसम्म रिट्रायल दिने व्यवस्था भएकाले सङ्ख्या थपिदै जाने गरेको छ ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्याय भन्छन् ‘अहिले नयाँ आवेदन देशभर लिइएको छैन, पुरानो बाँकी रहेको र रिट्रायलको काम भइरहेको छ । यो बीचमा सबै काम सकिन्छ, छठपछि नयाँ आवेदन खुला हुन्छ ।’ नयाँ आवेदनका लागि विभागले अनलाइनबाटै फाराम लिदै आएको छ ।

प्रिन्ट हुँदै अनुपतिपत्र
बाँकी रहेको अनुमतिपत्र (लाइसेन्स)को पनि प्रिन्ट गर्ने काम भइरहेको विभागले जनाएको छ । विभागले पनि दैनिक प्रिन्ट गरिरहेको छ भने निजी कम्पनी मालिका इन कर्पोरेटले पनि प्रिन्टको काम सुरु गरेको उपाध्यायले जानकारी दिनुभयो । विभागले चारवटा मेसिनबाट दैनिक एकहजार पाँच सय लाइसेन्स प्रिन्ट गरिरहेको छ ।

विभागका अनुसार छ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । विगत तीन वर्षदेखि लाइसेन्स प्रिन्ट गर्ने काम थाति रहदै आएको छ । निजी कम्पनीले काम सुरु गरेको ४५ दिनमा छ लाख लाइसेन्स छाप्ने गरी सम्झौता भएको छ ।

सुरुमा ३० हजार लाइसेन्स परीक्षणका लागि छाप्न दिइएको छ । उपाध्यायले भन्नुभयो ‘काम सुरु भएको ४५ दिनमा छ लाख छापेर सक्ने गरी दिने निर्णय भएको छ, कम्पनीले ४५ दिनमा सक्छु भनेको छ, छाप्ने काम सुरु भएको छ ।’

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

अघिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);