नेकपाको सचिवालय बैठक आज बस्दै, पोलिटव्यूरो सदस्य र संख्याका विषयमा छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

नेकपाको सचिवालय बैठक आज बस्दै, पोलिटव्यूरो सदस्य र संख्याका विषयमा छलफल हुने

nekapa

काठमाडौं, ७ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

बुधबारको बैठकमा प्रदेश र जिल्ला कमिटीलाई पूर्णता दिने विषयमा थप छलफल हुने बताइएको छ । साथै पार्टीका विभाग गठन र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंग्याउने विषयमा पनि छलफल हुनेछ । बैठकमा पोलिटव्यूरो सदस्य र संख्याका विषयमा पनि छलफल हुने बताइएको छ ।

नेता माधव कुमार नेपाल समूहको माग सुनुवाइ हुनेगरी महासचिवले नयाँ मापदन्ड तय गरेको बताइएको छ । यद्यपि उक्त मापदन्डका कारण प्रदेश इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी पाएकाहरु परिवर्तन नहुने संकेत सचिवालयको यस अघिको बैठकले दिएको छ ।

असोज ५ मा बसेको सचिवालयको बैठकले सातै प्रदेशमा पार्टी नेतृत्व तोकेपछि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका थिए । महासचिव विष्णु पौडेललाई लिखित असहमति बुझाएका नेपालको माग सम्बोधनका विषयमा गत सोमबारको बैठकमा छलफल भएको थियो ।

पार्टी विधि र प्रक्रियासम्मत् नचलेको भन्ने नेपालको आरोपमाथि अन्य सदस्यहरुले पनि साथ दिएपछि अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा पार्टीका कुनै पनि निर्णय गर्दा विधि र पद्धति अनुसार गरिने प्रतिबद्धता जनाएका थिए ।

गण्डकी र प्रदेश ५ का मुख्यमन्त्रीलाई पार्टीको प्रदेश कमिटीमा पनि मुख्य भूमिका दिइएकोप्रति नेपाल समूह असन्तुष्ट बनेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दुवै प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);