आश्विन शुक्ल नवमीका दिन दुर्गा भवानीको नवौ स्वरुप सिद्धिदात्री देवीको पूजा गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

आश्विन शुक्ल नवमीका दिन दुर्गा भवानीको नवौ स्वरुप सिद्धिदात्री देवीको पूजा गरी मनाइँदै

nabami

काठमाडौं, १ कात्तिक । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको नवौ स्वरुप सिद्धिदात्री देवीको पूजा गरी बलि दिएर मनाइँदैछ ।

यस दिन अरू पूजाको साथसाथै दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजा गरिन्छ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ । बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । महानवमीका अवसरमा आज नेवारी समुदायले भीमसेनलाई बलि सहित पूजा गर्ने गर्छन् ।

नवरात्रिको नवौ दिनलाई महा नवमी भनिन्छ । विशेष गरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । कन्या पूजाका बारेमा लेखिएको छ कि दस वर्षभन्दा बढी उमेर भएकी कन्या रजस्वला हुने हुँदा पूज्नु हुँदैन । चढाएको फल आदि खान र चन्दन आदि बास्नाको स्वाद लिन नजान्ने, एक वर्षकी कन्या पनि पूज्नु हुँदैन ।

रोग नलागेकी, राम्रो अङ्ग भएकी, घाउचोट र खत नभएकी एउटै कुलमा उत्पन्न भएकी कन्याहरूलाई राम्ररी पूज्नु पर्दछ आदिृ१े । काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ ।