काठमाडौं, २२ असोज । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले थप दुई प्रहरीलाई निलम्बन गरेको छ ।
बलात्कार र हत्या अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुले अनुसन्धानका क्रममा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयबाट गठित छानबिन समितिको सिफारिसमा थप २ जनालाई निलम्बन गरिएको हो ।
निलम्बित हुनेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत घटनास्थल अनुसन्धान अधिकृतको रुपमा खटिएका प्रहरी नायव निरिक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद रहेका छन् ।
उनीहरुले घटनास्थल अनुुसन्धानको क्रममा गम्भिर लापरबाही गरेको पाइएकोले प्रहरी नियमावली २०७१को नियम ११५को उपनियम ६ (क) र ( ग) अनुसार निलम्बन गरिएको जनाइएको छ । यस अघि तत्कालिन जिल्ला प्रहरी कार्यालय प्रमुख (डिएसपी ) डिल्लीराज विष्ट सहित ६ जनालाई निलम्बन गरिएको थियो ।