काठमाडौं, २० असोज । प्रधानमन्त्री केपी ओलीले विकासको काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सबैखालको बेथितीलाई अन्त्य गरेर मुलुकलाई समृद्ध बनाउन विकासको काममा तीव्रता दिन सरकार लागि परेको बताएका छन् ।
शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा पूर्वाञ्चल विश्वविद्यालयको २९ औं सभा बैठकलाई सम्बोधन गर्दै उनले विकासको कामलाई तीव्रता दिन सक्ने दक्ष जनशक्ति निर्माणमा जुट्न सबै विश्वविद्यालयलाई आह्वान गरे ।
विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले मुलुकको कृषि क्षेत्रको आधुनिकीकरणका लागि आवश्यक जनशक्ति निर्माणमा ढिलाई नगर्न पनि पूर्वाञ्चल विद्यालयलाई सचेत गराए ।
उनले माछा पालनजस्ता लोप हुन लागेका कृषि व्यवसायको आधुनिकीकरणको कामलाई निरन्तरता दिने गरी जनशक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याए । प्रधानमन्त्री ओलीले मुलुकको आवश्यक्ता अनुसार जनशक्ति निर्माण हुने गरी शैक्षिक क्षेत्रलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताए ।
प्रधानमन्त्री ओलीले प्राकृतिक स्रोत, साधनले सम्पन्न मुलुकलाई समृद्ध बनाउन सोही अनुसारको शिक्षा नीति आवश्यक रहेको बताए ।