काठमाडौं, ९ असोज । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा समाजिक समितिका सभापति निरुदेवी पालले मुलुकभरका महिला हिंसाका घटनाप्रति सरकारलाई जवाफदेही बनाईने बताएकी छन् ।
समितिको सभापतिमा निर्वाचित भएपछि मंगलबार बसेको पहिलो बैठकमा बोल्दै सभापति पालले मुलुकभर बालिका बलात्कार र हत्या लगायतका घटनामा वृद्धि हुँदै गईरहेका बेला समितिले सरकारलाई जवाफदेही बनाउन प्रभावकारी ढंगले काम गर्ने बताइन् ।
महिला हिंसाका घटनाको प्रभावकारी अनुसन्धान र कारवाहीका लागि सरकारलाई निर्देशन दिने र महिला सुरक्षातर्फ जवाफदेही बनाउनुको साथै त्यस्ता घटनामा न्युनिकरण ल्याउन समितिले प्रभावकारी ढंगले काम गर्ने उनले प्रतिवद्धता जाहेर गरिन् ।
बैठकले समितिको कार्यसञ्चालन कार्यविधि बनाउन ७ सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिले २ दिन भित्र कार्यसञ्चालन कार्यविधि र कार्ययोजना बनाई समितिमा पेश गर्ने छ ।