हेलिकोप्टर कुर्दै प्रसूति व्यथाले लिन्छ ज्यान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हेलिकोप्टर कुर्दै प्रसूति व्यथाले लिन्छ ज्यान

helicopter ma sutkeri

सुर्खेत, ६ असोज ।  सुत्केरी व्यथाले च्यापेपछि आफन्तले अस्पताल पुर्याए। शल्यक्रिया गरेर गर्भको बच्चा पनि निकालियो। अनेक प्रयास गर्दा पनि रक्त श्राव नरोकिएपछि डाक्टरले जतिसक्यो चाँडो बाहिर लैजान भने। आफन्तले तत्कालै हेलिकोप्टर मगाए तर हेलिकोप्टर भोलिमात्रै आयो। कालिकोटको खाँडाचक्र नगरपालिका १ की चन्द्रा शाहीको हेलिकोप्टर कुर्दाकुर्दै मृत्यु भयो।

जिल्ला अस्पताल कालिकोटका अनुसार समयमै सुविधायुक्त अस्पताल पुर्याएको भए चन्द्राको ज्यान जोगाउन सकिन्थ्यो। जिल्ला बाहिर रिफर गरिएको एक दिनपछिमात्र आफन्तले चन्द्रलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा त पुर्याए। तर अस्पतालको बेडमा राख्न नपाउँदै उनको मृत्यु भयो। यो गएको वर्ष मंसिर २६ गतेको घटना हो। केही महिना पहिले दैलेख बाँसीकी शोभा शाहीको अत्याधिक रक्त श्राव भयो।

आफन्तले हेलिकोप्टरबाट नेपालगन्ज लैजाने तयारी गरे। तर धेरै ठाउँमा हारगुहार गर्दा पनि हेलिकोप्टरको जोहो हुन सकेन। केही उपाय नलागेपछि आफन्तले गाडीबाटै सुर्खेतस्थित क्षेत्रीय अस्पतालमा पुर्रयाए। तर अस्पतालमा पुर्याउन ढिला भएका कारण चिकित्सकले उनलाई मृत घोषणा गरे।

कर्णाली प्रदेशका दुर्गम जिल्लामा गर्भवती र सुत्केरी महिलाहरूलाई समयमै अस्पताल पुर्याउन नसक्दा उनीहरूको अकालमै मृत्यु हुने गरेको छ। विकट बस्तीमा दक्ष चिकित्सक र स्वास्थ्य संस्था छैनन्। महिला असुरक्षित रूपमा घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ। जसका कारण उनीहरूको ज्यान जोखिममा पर्ने गरेको हो।

भौगोलिक विकटताका कारण कर्णालीमा सुत्केरी व्यथाले च्यापेपछि तत्काल सुविधायुक्त अस्पतालसम्म पुर्याउने माध्यम भनेकै हेलिकोप्टर हो। त्यही पनि सबै नागरिकको पहुँचमा छैन। आर्थिक अवस्था बलियो हुनेहरूले हेलिकोप्टरबाट अस्पतालसम्म लैजाने आँट गरे पनि भनेको बेलामा हेलिकोप्टर नपाउँदा धेरैपटक ज्यान गुमाउनु परेको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);