सुरेन्द्र कुमार कामति
सिरहा, ३ असोज । राष्ट्रिय जनता पार्टी नेपालले संविधान जारी भएको दिन अर्थात संविधान दिवसलाई सिराहमा विरोध गरी मनाएको छ । संविधान दिवसलाई कालो दिनको रुपमा लिँदै राजपा नेपालले विरोध गरेको हो । प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायको नेतृत्वमा निस्केको जुलुसले सदरमुकाम सिरहामा विरोध प्रदर्शन गरेको हो ।
मन्त्री आफैं सहभागी भएपछि राजपा नेता कार्यकर्ताहरु जिल्लाका विभिन्न गाउँ गाउँबाट सदरमुकाम सिरहा आएका थिए । विरोध प्रदर्शन राजपा पार्टी कार्यालय सहिद राजेश ठाकुर पार्कबाट निस्केर हेमनारायण चोक, पिपल चोक, ईमली चोक हुँदै महाविर चोकसम्म पुगको थियो ।
विरोध सभामा प्रदेश २ का मन्त्री रायले संविधान संशोधन नहुन्जेलसम्म विरोध गरिरहने बताए । उनले संविधानमा मधेसी, आदिवासी जनजाती, मुस्लिम, महिलाको अधिकार समावेश गर्न नसकेको भन्दै विरोध गर्नुपरेको बताए । जवसम्म संविधान संशोधन हुँदैन तवसम्म विरोध गरिरहने उनले उद्घोष गरे ।
मन्त्री राय सरकारी झण्डावाला गाडी सहित विरोध जुलुसमा सहभागी भएका थिए । यता राजपाले साँझ ७ बजेदेखि सवा ७ बजेसम्म ब्लयाक्ट आउट गर्ने घोषणा गरेको छ ।




