काठमाडौं, ३ असोज । सरकारले आगामी मार्च महिनामा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । लगानी बोर्डको ३२ औं बैठकले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले समृद्ध नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउने उद्देश्य लिएर सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले पश्चिम सेतीबाट चीनको थ्री गर्जेजले हात झिकेपछि उक्त परियोजनालाई अघि बढाउने विषयको मोडालिटी बनाउन उर्जा, अर्थ र उद्योग मन्त्री सम्मिलित उच्च स्तरीय समिति बनाउने समेत निर्णय गरेको छ ।
त्यसैगरी, औद्योगिक पूर्वाधारको आभावले विकास निर्माणको समय लम्बिने, लागत बढ्ने गरेको बिषयलाई मध्यनजÞर गर्दै पूर्वाधार निर्माणको जिम्मा पनि विकास निर्माण कर्तालाई बनाउन दिने बैठकले निष्कर्ष निकालेको छ ।
यस्तै, जापान क्लब इन्टरनेशनलले १३ अर्ब ९० करोडको लगानीमा काठमाडौँ भक्तपुर र पोखरामा होटल निर्माण गर्न गरेको प्रस्ताव समेत बैठकले स्वीकृत गरेको छ ।