एजेन्सी, ३० भदौ । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा ४ जनाको मृत्यु भएको छ ।
आँधीका कारण त्यहाँका ६ लाख घरमा विद्युत् सेवा समेत अबरुद्ध भएको छ । उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जिनियाको तटीय इलाकामा झन्डै १७ लाख व्यक्तिलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइएको छ ।
जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ । यसका बाबजुद कैयौं मानिस प्रभावित क्षेत्रमै फसेका छन् । फसेकाहरुलाई उद्धारको प्रयास भइरहेको छ । प्रतिघण्टा १ सय १० किलोमिटरको रफ्तारमा आएको आँधीसँगै भीषण वर्षासमेत भइरहेको छ ।
आँधीका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । विद्यु्त् आपूर्ति सुचारु गर्न एक हप्तासम्म लाग्ने अनुमान गरिएको छ ।