काठमाडौं, २८ भदौ । प्रहरीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको डिएनए परीक्षण सुरु गरेको छ ।
कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा उनीहरुको संलग्नता भएको हुनसक्ने शंकाको आधारमा विष्टसहित तीनजनाको डिएनए परीक्षण सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार हाल निलम्बनमा रहेका एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको रगत संकलनको काम सकिएको छ ।
तीनैजनाको डीएनए परीक्षण प्रहरीको विधिविज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्नेछ । उनीहरुको डीएनए परीक्षण रिपोर्ट आउन २ हप्ताको समय लाग्ने प्रहरीले जनाएको छ ।