धनगढी, २८ भदौ । दार्चुलाबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ९११४ नम्वरको बस डोटीको जोरायल गाउँपालिका–२ अन्तर्गत भीमदत्त राजमार्गको रुवसकाँडा नजिकै दुर्घटनामा परेको छ । दुर्घटनामा ४ गम्भीरसहित २४ जना घाइते भएका छन् ।
क्षेत्रिय ट्राफिक कार्यालय अत्तरियाले दिएको जानकारीअनुसार बिहान ३ बजे बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका १ बालक, २ महिलासहित २२ जनाको सेती अञ्चल अस्पताल धनगढी र अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते बसचालक पदम पन्त र बसधनी गंगादत्त जोशीलाई थप उपचारका लागि भारतीय अस्पताल रिफर गरेको छ।
घटनास्थल पुगेका ट्राफिक प्रहरी सहायक निरीक्षक लोकबहादुर पालका अनुसार सडकबाट २५र३० मिटर तल भीरमा ठूलो रुखमा बस अड्किएको छ। ‘बस रुखमा अड्किदा यात्रुको ज्यान जोगिएको देखियो,’ उनले भने, ‘नत्र धेरै यात्रुको घटनास्थलमै ज्यान जान सक्थ्यो।’ बस रुखमा अड्किदा यात्रु भुइमा खसेर बाँचेको उनले बताए।
यात्रुहरुलाई उदृत गर्दै असई पालले चालकको लापरवाहीले बस दुर्घटनामा परेको बताए। दुर्घटनाको एक घण्टाभित्र प्रहरी र उद्धारकर्मी घटनास्थल पुगिसकेका थिए। समयमै उद्धार गरिएकोले घटनामा ज्यान जोगाउन सकिएको पालले बताए।