गरिबलाई रेफरै रेफर | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०७९, आइतबार

गरिबलाई रेफरै रेफर

garib hospital

काठमाडौं, २६ भदौ । चार दिनअघि सुत्केरी भएकी जुम्ला, सिंजा गाउँपालिका—१ की ईश्वरीदेवी उपाध्यायका आँखा ओभाएकै छैनन्। उनका पति धनप्रसाद एक सातादेखि तनावमा छन्। पत्नीलाई प्रसव व्यथाले च्यापेदेखि नै धनप्रसाद कुदेको कुद्यै छन्। सुत्केरी बेथाले सिकिस्त ३३ वर्षीया ईश्वरीलाई डोर्‍याउँदै ६ घण्टा हिंडाएर उनले नाग्म ल्याए। नाग्मबाट गाडी चढाए।

घरबाट २३ कोस टाढा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सकसका साथ पुगेपछि ईश्वरीले त्यहाँ तीन केजीको छोरा जन्माइन्। भदौ २१ गते साँझ नयाँ सन्तानको आगमनमा खुशी भएको यो दम्पत्तिलाई अहिले उसैलाई कसरी बचाउने भन्ने पिरलो छ।

सुरुमा यातायात असुविधाका कारण सास्ती झेलेका ईश्वरी र धनप्रसाद स्वास्थ्य सुविधा भएको ठाउँमा आएपछि भने अस्पतालको व्यवहारले दुःखी छन्। नवजात शिशुमा श्वासप्रश्वास समस्या देखिएपछि अस्पतालहरूले एक ठाउँबाट अर्को ठाउँमा रेफर गरिरहे। धनप्रसाद अस्पताल र चिकित्सकबाट पाएको सास्ती सुनाउन चाहँदैनन्। ‘सबै दुःख सुनाउँदा झन् अफ्ठेरो पो पर्ने हो कि’, डराई–डराई उनले भने, ‘छोरालाई कसैले नहेर्ने हो कि । ’

साँझ जन्मिएको शिशुलाई राति एक बजे असजिलो भयो। चिकित्सकले श्वासप्रश्वास प्रक्रियामा अफ्ठेरो भएको भन्दै अन्यत्र लैजान रेफर गरे। त्यसपछि उपचारका लागि रकम जुटाउने कि जहाजको टिकट खोज्ने भन्ने संकट आइलाग्यो। धनप्रसादले एघार हजारभन्दा बढी खर्च गरी गोमा एयरलाइन्सबाट नेपालगन्ज राँझा विमानस्थल झारे। काठमाडौं लैजान जहाजको टिकट पाइएन।
त्यसपछि उनले एम्बुलेन्सद्वारा झन्डै १२ किलोमिटर टाढाको कोहलपुर मेडिकल कलेजमा दौडाए। त्यहाँ एक दिन एक रात राखे। ‘यहाँ उपचार गर्न महँगो पर्छ, तपार्इंको आर्थिक अवस्था के छ ’ भन्दै चिकित्सकले प्रश्न गरेपछि उनी अन्यौलमा परे। अस्पताललाई दश हजार बुझाए।

जुम्लाका स्थानीय कांग्रेस नेतालाई फोन गरेर उपचारका लागि व्यवस्था मिलाइदिन आग्रह गरे। ती नेताले कान्ति बाल अस्पतालका निर्देशक डा. गणेशकुमार राईलाई फोन गरे। डा. राईले पठाउन भनेपछि धनप्रसादले १२ हजारभन्दा बढी खर्चेर जहाजको टिकट लिए। पत्नीसहित नवजात शिशु लिएर जहाजबाट सोमबार मध्यान्ह उनी काठमाडौं आए। पर्याप्त अक्सिजन नभएकाले जहाजमा शिशु आकुलव्याकुल थियो। उनले हेरिरहे, भगवानको पुकारा गरे।

एक बजेतिर शिशु लिएर उपाध्याय दम्पत्ति कान्ति बाल अस्पताल पुग्यो। चिकित्सकले आपतकालीन कक्षमा राखे। जाँचेपछि चिकित्सकले भने, ‘एनआईसीयूमा राखेर उपचार गराउनुपर्छ। यहाँ फुलप्याक छ। अन्यत्रै लैजानुस्।’ त्यसपछि धनप्रसादले उपचार गर्न नपाएकोमा गुनासो गर्दै अस्पतालका निर्देशक डा। राईलाई भेटे। राईले आपतकालीन कक्षका चिकित्सकलाई फोन गरेर हेर्न आग्रह गरे। तर, आपतकालीन कक्षका चिकित्सकले एनआईसीयू शैय्या नभएको जनाउँदै रिफर गर्न उनलाई पटकपटक भनिरहे।

‘एनआईसीयूमा रहेको अन्य अस्पतालमा लगेर उपचार गराउनुस्। त्यसो गर्न सक्नु हुन्न भने अहिले जसरी उपचार भइरहेको छ त्यसैमा सहमत छु भनेर कागज गर्नुस्’, चिकित्सकले धनप्रसादलाई भने। किसान पृष्ठभूमिका धनप्रसादले आफू गरिब भएको जनाउँदै अन्यत्र लगेनन्। सोमबार साँझदेखि भने कान्ति अस्पतालले बच्चाको उपचारमा विशेष ख्याल पुर्‍याउन थालेको उनले बताए।

‘बच्चा हाम्रो जिम्मामा आइपुगेको छ, हामीले उनको निःशुल्क उपचार गर्छौं’, डा. राईले भने, ‘तर, यत्तिको बिरामीलाई कान्तिमा पठाइरहनुपर्थेन। उनको उपचार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोहलपुर मेडिकल कलेजमै हुन सक्थ्यो।’

मुलुकको एकमात्र केन्द्रीय बाल अस्पतालमा ल्याएका बिरामीमध्ये ९ जनालाई कान्तिले आइतबार शैय्या नभएको जनाउँदै अन्यत्रै रेफर गर्‍यो। निर्देशक डा। राई र अस्पताल विकास समितिका अध्यक्ष सुबोधराज आचार्यको साथ पाएकाले उनले आपतकालीन कक्षका चिकित्सकको भनाइ सुनेनन्। ‘अचेल त सामान्य लाग्न थालिसक्यो, निजी अस्पताल र नर्सिङहोमले यहाँ रेफर गर्छन्। बेड नभएपछि हामीले अन्यत्र रेफर गर्र्छौँ’, डा. राईले भने।

दिनहुँ सरदर ९ सय ५० बालबालिका उपचारका लागि कान्ति अस्पतालमा आउँछन्, जसमध्ये २५ प्रतिशत काठमाडौं बाहिरका हुने गर्छन्। भदौ १ गतेदेखि साधारण बिरामी समेत कान्तिमै रेफर गर्ने चिकित्सकको प्रवृत्ति बढेकोमा डा. राईले चिन्ता व्यक्त गरे। ‘पहिला नौ सयको हाराहारीमा बिरामी आउँथे’, उनले भने, ‘अहिले त दैनिक एक हजार नाघिसकेको छ।’
रेफर गर्दागर्दै मृत्यु
चितवन, भरतपुरका तीन वर्षीय सलिन विकलाई सर्पले टोकेपछि एउटा अस्पतालबाट अर्कोमा रिफर गर्दा दौडाउँदा–दौडाउँदै बिहीबार बाटैमा ज्यान गयो। उनलाई पीआईसीयु नभएको जनाउँदै अन्यत्र रेफर गरिएको थियो। उनलाई भरतपुरका दुई शिक्षण अस्पताल र दुई निजी अस्पतालले भर्ना लिन मानेनन्। अन्य अस्पतालमा लैजान रेफर गरे। उपभोक्ता अधिकार मञ्चले आइतबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै छानबिन गरी कारवाहीको माग गरेको थियो।
‘सुगम जिल्लामै यस्तो घटना हुन्छ भने दुर्गमको अवस्था के होला अस्पतालले बाँच्ने ग्यारेन्टी भएका वा पैसा खर्च गर्न सक्नेलाई मात्र उपचार गर्न खोजेको हो ’ ज्ञापनपत्रमा प्रश्न गरिएको छ। मञ्चका कार्यवाहक जिल्ला अध्यक्ष विष्णु भुसालले छानबिन समिति बनाएर कारवाही गर्न माग गरेका छन्। पीडित परिवारले पनि प्रजिअलाई भेटेर कारवाहीको माग गरेका छन्।

भदौ १ गतेदेखि मुलुकी अपराध (संहिता)ऐन, २०७४ लागू भएपछि चिकित्सकहरू पनि त्रसित देखिन्छन्। उनीहरूले बिरामीको अवस्था जटिल देखिनेबित्तिकै अन्यत्र लैजान दबाब दिने गरेका छन्। चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघले विवादास्पद दफाको खारेजी तथा संशोधनको माग गर्दै दबाबमुलक आन्दोलन गरिरहेको छ।

वीर अस्पताल, ट्रमा सेन्टरका एक वरिष्ठ अर्थोपेडिक सर्जन चिकित्सकमा रेफर गरेर उम्किने प्रवृत्ति बढेको स्वीकार्छन्। ‘बिरामी गम्भीर थियो, त्यसैले रेफर गरेको भनेपछि भइहाल्यो। अस्पतालमा बेड छैन वा कुनै उपकरण बिग्रेको छ भनेर बहाना बनाए उम्किन सजिलो हुन्छ’, उनले भने, ‘किन जाँच गरिनस् भनेर कसैले प्रश्न सोध्नेवाला छैन।’

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रशासन प्रमुख सूर्यप्रसाद अधिकारी निको पार्न नसकिने भएपछि ठूला निजी अस्पतालबाट बिरामीलाई सरकारी अस्पतालमा रेफर गर्ने प्रवृत्ति रहेको बताउँछन्। ‘बिरामीको खल्ती रित्तो भयो भने वा उपचार गराएर निको पार्न नसकिने भएपछि सरकारी अस्पतालमा रेफर गर्ने प्रवृत्ति छ’, उनले भने।

शिक्षण अस्पतालमा दिनहुँ झन्डै दुई हजार बिरामी जँचाउन आउने गर्छन्, जसमध्ये कति रेफर गरिएका हुन् भन्ने तथ्यांक अस्पतालले राख्ने गरेको छैन। अपराध संहिताका कानुनी प्रावधानका कारण चिकित्सकले बिरामी अन्यत्र रेफर गर्ने प्रवृत्ति बढेको डा। राईको दाबी छ। कान्ति बाल अस्पतालमा नवजात शिशुको उपचारका आईसीयुका १६ शैय्या छन्। नवजात शिशुभन्दा माथिका बालबालिकाका लागि १२ वटा शैय्या छन्।

अप्रेसन गर्नुपर्ने बिरामीका लागि ७ वटा र छुट्टै कोठामा राखेर उपचार गर्नुपर्ने बालबालिकाका लागि आइसोलेसन शैय्या दुई वटा छन्, जुन अहिले बिरामीले भरिभराउ छन्। अस्पतालका निर्देशक डा।राई भन्छन्, ‘गम्भीर प्रकृतिका बालबालिकालाई निजी अस्पताल, नर्सिङ होमले यहाँ रेफर गर्छन्। शैय्या भरिएको छ। एउटा बिरामीलाई जबर्जस्ती उठाएर अर्कोलाई कसरी भर्ना गर्ने , हामीले यहाँबाट कहाँ रेफर गर्ने दिल्ली की थाइल्यान्ड । ’

बच्चाले दिसा खाएको शंका
चार दिनअघि जन्मेका उपाध्याय दम्पत्तिको शिशुले पेटमै दिसा सेवन गरेका शंका चिकित्सकले गरेका छन्। डा. राईले भने, ‘पेटभित्र दिसा गर्‍यो। श्वासप्रश्वासमा असर गर्‍यो। त्यतिबेला दिमागमा असर पर्‍यो’, उनले भने, ‘उपचार गरे पनि बच्चा सामान्य अवस्थामा नफर्कन सक्छ। तर अहिले त ज्यान बचाउनुपर्ने अवस्था छ।’आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।