काठमाडौं, २५ भदौ । नेपाल प्रहरीले काठमाडौंको मसाज, डान्स, बारहरुमा हुने अश्लीलता नियन्त्रण गर्ने कानुनी अधिकार आफ्नो संगठनलाई नरहेको स्पष्ट पारेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंको मसाज, डान्सबारहरुमा हुने अश्लीलता नियन्त्रण गर्ने कानुनी अधिकार आफूहरुसँग नरहेको बताएका हुन् । समाजमा अश्लीलता हुन नदिन आफूहरुले मसाज, डान्स, बारहरुमा छापा मार्ने गरेपनि त्यसलाई नियन्त्रण गर्न स्थानीयले साथ नदिएकोमा महानिरीक्षक खनालको असन्तुष्टि छ ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रहरीले महिला, बालबालिका बेचविखन हुन नदिन सक्दो पहल गरिरहेको दावी गरे ।
उनले उजुरी नै नभएका कारण मानव बेचबिखनको घटना हुन नदिन प्रहरीले आवश्यक पहलकदमी लिन नसकेको बताए । महानिरीक्षक खनालले नेपाल प्रहरीले अपराध नियन्त्रणमा उल्लेख्य उपलब्धि हासिल गरिरहेको दावी गरे ।