सुरेन्द्रकुमार कामती
सिरहा, ५ भदौ । सिरहाको भूमिसुधार कार्यालय सहयोगीको भरमा चलिरहेको छ । अन्य कर्मचारी नहुँदा कार्यालय सहयोगीको भरमा चलेको हो ।प्रर्याप्त कर्मचारी नहुँदा सेवाग्राही मारमा परेका छन् ।
सिरहाको भूमिसुधार कार्यालयको मुद्दा दर्ता, तारेख, अभिलेख लगायतका सबै काम कार्यालय सहयोगहीले गरिरहेका छन् । कार्यलयमा सेवाग्राहीको भिड लाग्छ तर कर्मचारीको अभावमा काम प्रभावकारी हुन सकेको छैन । मोही जग्गाको बाँडफाँडको लागि मुद्दा (विनेदन) दर्ताको लागि जिल्लाका हजारौंको भीडभाड लागेको छ । आफूहरुलाई काम गर्न कठिन भएको कार्यालय सहयोगीहरुले गुनासो गरेका छन् ।
कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा सेवाग्राही मारमा परेका छन् । एउटै कामको लागि प्रत्येक दिन कार्यालय धाउने गरेको सेवाग्राहीको गुनासो छ ।कार्यालयमा अधिकृत, नासु, खरिदार नहुँदा वर्षौदेखि भूमि सुधार कार्यालय लथालिङ भएको छ । तत्काल कार्यालयमा आवश्यक कर्मचारी उपलब्ध गराउन सेवाग्राहीले माग गरेका छन् ।