उपमहानगरबासी घरमा बसेर टेलिफोन गर्नबाट बञ्चित | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

उपमहानगरबासी घरमा बसेर टेलिफोन गर्नबाट बञ्चित

धनगढी, २ भदौ । विश्व सूचना समाजको युगमा प्रवेश गरिसकेको छ । हरेक व्यक्तिमा सूचना प्रविधिको सहज पहुँच र त्यसको माध्यमबाट अन्तरक्रियात्मक सम्बन्ध स्थापित हुनसक्ने अवस्था नै सूचना समाज हो । तर, धनगढी उपमहानगरपालिका–६ का स्थानीयले अहिलेसम्म आफ्नै घरमा बसेर टेलिफोनसमेत गर्न पाएका छैनन् ।

सामान्यता उपमहानगरपालिका भन्ने वित्तिकै हरेक सुविधाबाट सम्पन्न नगर भन्ने बुझिन्छ । तर, धनगढी उपमहानगरपालिका–६ बिजुलिया गाउँमा टेलिफोन सेवा समेत पुग्न सकेको छैन । सूचना समाजको युगमा उपमहानगरपालिकाबासी फोन गर्नका लागि ओल्लोपल्लो गाउँ धाउन बाध्य छन् ।

करिब तीन सय घरधुरी रहेको उक्त गाउँ उपमहानगरपालिका कार्यालयबाट करिब तीन किलोमिटरको दुरीमा छ । तर, कुनै पनि दुरसञ्चार कम्पनीले टावर नराख्दा बिजुलिया गाउँबासी सम्पर्क बिहिन जस्तै भएका छन् ।

नगरपालिका र दुरसञ्चार कार्यालयलाई पटक–पटक लिखित तथा मौखीक जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

यस विषयमा कुरा गर्दा उपमहानगरपालिकाका प्रमुख नृप वडले अनभिज्ञता प्रकट गरे । उनले दुरसञ्चार कार्यालयसँग सहकार्यगरी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्मार्ट सिटी’ बनाउने योजनामा रहेको धनगढी उपमहानगरपालिकाकै कुनै वडा टेलिफोन सेवाबाट बाहिर हुनु र यस विषयमा नगरप्रमुख नै बेखबर हुनु दुःखद भएको स्थानिय बताउँछन् ।