३ वर्षपछि टीकापुर घटनाको सुनुवाइ | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

३ वर्षपछि टीकापुर घटनाको सुनुवाइ

tikapur andhlan

काठमाडौं, ३१ साउन । ३ वर्षपछि टीकापुर घटनाको सुनुवाइ सुरु भएको छ । बुधबार भएको पहिलो सुनुवाइमा कैलाली जिल्ला अदालतले वादी र प्रतिवादी पक्षका साक्षी पेस गर्न आदेश दिएको छ ।

थारुहट आन्दोलनका क्रममा ७ भदौ ०७२ मा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । झडपमा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ९ जनाको मृत्यु भएको थियो । पीडित पक्षका ८ जनाको जाहेरीमा ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरीमा मुद्दा चलाएको थियो ।

मुद्दाको सुनुवाइमा कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले वादी र प्रतिवादी पक्षका साक्षी अदालतमा पेस गर्न आदेश दिएको हो । २४ भदौमा हुने अर्को सुनुवाइका क्रममा दुवै पक्षका साक्षी अदालतमा उपस्थित गराउन आदेश भएको स्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए । दुवै पक्षका साक्षी उपस्थित गराएर वकपत्र भएपछि मात्रै बहस सुरु हुने उनले बताए ।

वादी पक्षका साक्षी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत र प्रतिवादी पक्षका साक्षी उनीहरूमार्फत नै अदालतमा उपस्थित गराउन आदेशमा भनिएको छ । वादी पक्षले साक्षीका रूपमा जाहेरवाला, वस्तुस्थितिको मुचुल्का गर्ने व्यक्ति, घटनास्थलको प्रकृति मुचुल्का गर्ने व्यक्तिहरू र प्रत्यक्षदर्शीलगायत प्रहरीमा घटना, विवरण मुचुल्का गर्नेलाई उपस्थित गराउनुपर्नेछ ।

अदालतका अनुसार वकपत्र मिति तोकिएको दिन अदालतमा दुवैतर्फका साक्षी उपस्थित भएपछि अर्को पेसी तोकेर बहस सुरु हुनेछ । वकपत्र भएको २–३ महिनाभित्रै मुद्दाको फैसला हुन सक्ने अधिवक्ता गंगाराम पाध्यायले बताए । उपाध्याय र गम्भीरसिंह ऐरले प्रतिवादी तथा प्रकाशबहादुर भण्डारीले वादीका तर्फबाट बहस गर्ने भएका छन् ।

३२ अभियुक्त फरार
टीकापुर घटनामा ५८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो, जसमध्ये २६ पक्राउ परेका थिए । उनीहरूमध्ये २४ जना पुर्पक्षका लागि थुनामा छन् भने दुईजना बालक छन् । एकजनालाई आफन्तको जिम्मा लगाइएको छ भने अर्कालाई सुधारगृहमा राखिएको छ ।

थुनामा रहेका मध्ये प्रतिनिधिसभामा कैलाली क्षेत्र नं। १ बाट निर्वाचित रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा राखिएको छ भने २३ जना कैलाली कारागारमा छन् । सो घटनामा मुद्दा लागेका ३२ जना फरार छन् ।

वतन स्पष्ट नहुँदा ढिलाइ
मुद्दा दर्ता गरिएका ५८ मध्ये ६ जनाको वतन स्पष्ट नहुँदा सुनुवाइमा ढिलाइ भएको अदालतले जनाएको छ । ‘फरार प्रतिवादीको नाममा म्याद जारी गर्ने क्रममा ६ जना प्रतिवादीको वतन स्पष्ट नभएकाले मुद्दाको सुनुवाइमा ढिलाइ भएको हो,’ स्रेस्तेदार कठायतले भने ।

वतन स्पष्ट नहुँदा यसअघि पटक–पटक म्याद र वारेन्ट जारी गरिएको थियो । म्याद र वारेन्ट त्यसै गुज्रिएका थिए । वतन स्पष्ट भएपछि जारी भएको म्याद भुक्तानीपछि मुद्दा पेसीमा चढेको उनले बताए ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ ०७२ मा टीकापुरमा ८ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको निर्ममतापूर्वक हत्या गरिएको थियो । संविधान निर्माणको क्रममा रहेका वेला पश्चिम तराईका जिल्लालाई थरुहट प्रदेश बनाउनुपर्ने माग गर्दै भएको आन्दोलनका क्रममा टीकापुरमा हिंसात्मक घटना भएको थियो । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);