काठमाडौं, १२ साउन । बौद्धधर्मका बरिष्ठ गुरु मानिने क्याब्जे ठुल्श्यिक रिम्पोछेको ३२औं अवतार भेटिएको धर्मगुरुरूले पुष्टी गरेका छन् । एक महिनाअघि ४ वर्षीय बालकमा रिम्पोछेको ३२ औं अवतार भेटिएको बौद्धधर्मगुरुले दाबी गरे । अवतार प्रमाणितसँगै मुख्य धर्मगुरु क्याव्जे दो ठुक्चेन रिम्पोछेले अवतारी रिम्पोछेको नाम ठुल्सिक ङवाङ जिग्मी ठिन्लेन कुन्ख्याप रिम्पोछे राखेका छन् । सोलुको दुधकुण्ड नगरपालिका-१ स्थित थुप्तेन दोङाक क्षोलिङ गुम्बाका धर्मगुरुसमेत रहेका रिम्पोछेको ८८ वर्षको उमेरमा २०६७ मा मृत्यु भएको थियो ।
महाकुलुङ गाउँपालिका-१ चेरेममा जन्मेर हलेसी तुवाचुङ नगरपालिका-७ मा बस्दै आएका मारातिका दुङजिन ङवाङ जिग्टल छोकी वाङछुक र आमा उर्गेन डोल्मा शेर्पाको कोखबाट तेस्रो सन्तानको रुपमा २०७१ माघ ८ गते जन्मिएका बालकमा रिम्पोछेको अवतार भेटिएको धर्मगुरुले पुष्टी गरे । अवतार पुष्टीसँगै मुख्य चेला र हजारौं दर्शनार्थीको उपस्थितिमा सोलुखुम्बुकै गुम्बामा बस्त्र चडाउने काम सम्पन्न गरिएको छ ।
अवतारीको गद्दीआरोहणमा ङिङमा सम्प्रदायका प्रमुख धर्मगुरु जटुल रिम्पोछे, शंशङ रिम्पोछे र चतुक्पा टुल्कुलगायत विभिन्न धर्मगुरुको उपस्थिति थियो ।
अवतारीसँग बुधबार ञिङ्मापा सम्प्रदायको साताै वरिष्ठ धर्मगुरु रिम्पोछे व्याब्जे काथोक गेचेले हात्तिवनको गुम्वामा भेट गरी सकेको छ । अवतारी पत्ता लगाउन र पुष्टी गर्न अमेरिका, भारत, तिब्वतसहित विश्वभरका धर्मगुरुको सिफारिसमा आठजनाको समिति गठन भएको थियो । रिम्पोछेको पहिलो अवतार पञ्च बुद्धमध्ये बुद्ध वरोचना, दोस्रो अवतार वज्रपानी हो भने ३० औं अवतार ठुल्सिक दोङा लिङपा र ३१ औं अवतार क्याव्जे ठुल्सी ङवाङ छोकी लोडो रिम्पोछे हो ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।