विक्रम श्रेष्ठ, काठमाडौँ, १ भदौ । पृथ्वीको तापक्रम बढ्दै जाँदा हिमालय क्षेत्रमा न्युन हिउँ पर्ने र परेको हिउँ पनि क्षणभरमै बिलाएर जाँदा नेपालका हिमालहरु कालापत्थरमा रुपान्तरण हँुदै गएका छन् । तापक्रम बढ्दै जाँदा हिमालय क्षेत्र केही दशक भित्रै हिउँविहिन हुनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपालका सगरमाथासहित अग्ला हिमालहरुमा अहिले हिउँ जम्न छाडेको छ । नाम चलेका हिमालहरु अहिले कालो पहाड जस्तो मात्रै देखिने गरेको छ । चिसो याममा हिउँ नपर्नु र गर्मी महिनामा हप्तौँ सम्म हिउँ पर्ने गरेका कारण यस्तो भएको विज्ञहरुको भनाइ छ । अहिले हिमालय क्षेत्रमा बर्षेनी ० दशमलव ५६ सेण्टीग्रेडले तापक्रम बृद्धी भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यही अवस्थामा हिमालहरु पग्लैदै गए केही दशकमै हिमालहरु कालापत्थरको रुपमा परिणत हुने विज्ञहरुको भनाइ छ ।
सन् १९६० सम्म हिमालको हिउँहरु पग्लने क्रममा स्थीर रहे पनि त्यस यता तापक्रम बृद्धी भइ जलवायु परिवर्तनमा असर देखिएको छ । तापक्रम वृद्धीकै असरले वर्षातको नियमितता नहुँदा वाढिपहिरोको जोखिम समेत बढेको छ ।
नेपालमा अति जोखीमपुर्ण ६ ठुला हिमतालसहित ३ हजार भन्दा बढि हिमतालहरु रहेको तथ्यांक छ । तर हिमालय क्षेत्रमा आइरहेको परिवर्तनवारे भौगोलिक कठिनाइका कारण आधुनिक प्रविधि प्रयोग गरि अध्ययन गर्न नसकेको महानिर्देशक शर्माको भनाइ छ ।
विकसित देशहरुले गरिरहेको कार्बन उत्सर्जनको सिधा असर हिमालय क्षेत्रमा रहेका देशहरुलाई परेको छ । जलवायु परिवर्तनको असर न्युनिकरण गर्न बिश्वको ध्यान खिच्न भन्दै कोपनहेगन सम्मेलन पूर्व २०६६ मंसिर १९ गते सगरमाथा आधार शिबिर नजिकै कालापत्थरमा मन्त्रीपरिषद बैठकसमेत बसेको थियो । बैठकले जलबायु परिवर्तन असर न्युनिकरणसंबन्धी १० बुँदे सगरमाथा घोषणा पत्र नै जारी गरेको थियो । तर तापक्रम वृद्धीको असर न्युनिकरणका लागि खास पहल भने हुन सकेको छैन ।