काठमाडौं, ६ साउन । सरकारी वार्ता टोलीले चिकित्सक गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ ।
वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले विज्ञप्ति निकालेर डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका हुन् । उनले डा केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताए ।
संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा केसीलाई काठमाडौं नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक बरालले बताए । सरकारले असार ३२ गते शिक्षा सचिव बरालको संयोजकत्वमा डा केसीका पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको थियो ।
यसबीचमा वार्ता टोलीले तीन पटक डा केसीका पक्षसँग वार्ता गरिसकेको छ । विज्ञप्तिमा वार्ताबाट छिटो समाधान ननिस्कने देखेर नै डा केसीको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन सरकारले उनँलाई जुम्लाबाट काठमाडौँ ल्याई अभिभावकत्वको भूमिका निर्वाह गरेको समेत उल्लेख गरिएको छ ।