आयोगको मलेठ प्रतिवेदनप्रति सरोकारवालाको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आयोगको मलेठ प्रतिवेदनप्रति सरोकारवालाको आपत्ति

काठमाडौं, ४ साउन । सप्तरीको मलेठ घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदनप्रति आपत्ति जनाउँदै सरोकारवालाहरुले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका छन् ।

सरोकारवालाहरुले मानव अधिकारको दृष्टिले समेत गैरजिम्मेवार ढंगबाट प्रतिवेदन तयार पारेको भन्दै शुक्रबार ज्ञापनपत्र मार्फत् आयोगको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

ललितपुरको हरिहर भवनमा रहेको आयोगको कार्यालयमा पुगेका उनीहरुले आयोगले सो घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदन संकुचित, पूर्वाग्रही र मानव अधिकारका दृष्टिले समेत गैर जिम्मेवार देखिएको दावी गर्दै पुनः स्वतन्त्र र निष्पक्ष छानवीन तत्काल गर्न माग गरेका छन् ।

आयोगको प्रतिवेदनले भ्रम मात्रै सृजना गरेकाले तत्काल निष्पक्ष छानवीन गरी सो घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि सरकार र आयोगको ध्यानाकर्षण गराइएको अधिवक्ता रक्षाराम हरिजनले बताए ।

२०७३ साल फागुन २३ गते सप्तरीको मलेठमा सुरक्षाकर्मीको गोली लागि ५ जना सर्वसाधारणको ज्यान गएको थियो । सोही घटनाका पीडितलाई न्याय नदिने गरी आयोगले प्रतिवेदन तयार पारेको सरोकारवालाहरुको आरोप छ ।

आयोगको प्रतिवेदनले सुरक्षाकर्मीले गोली चलाएको कुरालाई समेत किटान गर्न नसकेकोमा उनीहरुको आपत्ति छ । यता, राष्ट्रिय मानव अधिकार आयोगले भने सो प्रतिवेदनलाई पुन विश्लेषण गर्ने आश्वासन दिएको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले ज्ञापन पत्र बुझ्दै आयोगको प्रतिवेदनमाथि गरिएको टिप्पणीको स्वागत गर्ने र त्यसको विश्लेषण गरेर नयाँ निष्कर्षमा पुग्ने प्रतिक्रिया दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);