काठमाडौं, ४ साउन । उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गरिव जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन जोड दिनुपर्ने बताएका छन् ।
उपप्रधानमन्त्री यादवले गरिव जनताको उपचारका लागि स्थापना हुने स्वास्थ्य संस्थाहरुलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
शुक्रबार ललितपुरस्थित बी एण्ड बी अस्पतालले स्थापना गरेको अत्याधुनिक सुविधासहितको बी एण्ड बी कार्डियाक केयर सेन्टरको उद्घाटन गर्दै उनले उपचार गर्न नसकेर ज्यान जाने अवस्थामा रहेका जनताको उपचार सेवामा लाग्न निजी क्षेत्रका अस्पतालहरुलाई पनि आग्रह गरे ।
उपप्रधानमन्त्री यादवले विषाधी खानाको अत्याधिक सेवनका कारण नेपालमा क्यान्सरजस्ता प्राण घातक रोगको संक्रमण बढ्दै गएको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्दै लैजान सरकारले जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले चिकित्सकहरुलाई चिकित्सक पेशामै समर्पित हुन आह्वान गरे । उनले वरिष्ठ चिकित्सक गोविन्द केसीप्रति संकेत गर्दै उपचार गर्न छोडेर चिकित्सकहरुले पदीय मर्यादाको दुरुपयोग गर्न नहुनेतर्फ सचेत गराए ।
कार्यक्रममा बी एण्ड बी अस्पतालले मुटु रोगीलाई ध्यानमा राखेर सोसम्बन्धि अत्याधुनिक केयर सेन्टर स्थापना गर्नु परेको स्पष्ट पारेको छ ।




