श्रवण देउवा
कैलाली, ४ साउन । कैलालीको धनगढीमा निर्माण हुने भनिएको अन्तराष्ट्रिय स्तरको फाप्ला क्रिकेट मैदान गौचरणमा परिणत भएको छ । निर्माणका लागि सम्बन्धित निकायले चासो नदिएकाले मैदान गौचरणमा परिणत भएको हो ।
धनगढी क्रिकेट शहरका रुपमा परिचित छ । राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता पनि धनढीमा संचालन गरिन्छ । क्रिकेट खेलको स्तरोन्नतिका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको फाप्ला क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउने सरकारले घोषणा गरेको छ ।
रंगशाला बनाउन आगामी आर्थिक बर्ष २०७५-७६ का लागि प्रदेश सरकारले ५ करोड तथा धनगढी उपमहानगरपालिकाले १ करोड बजेट छुट्याएको छ । तर रंगशाला निर्माणको काम नहुँदा मैदान गौचरणमा परिणत भएको छ । गतबर्ष लाखौं रुपैयाँ खर्च गरेर फाप्ला मैदानमा तारबार र मुल गेटमा ताला लगाएको थियो । तर, स्थानीयले ताला तोडेर बस्तु चराउन थालेका हुन् ।
सरोकारवाला पक्षले निर्माणमा चासो नदिएकाले मैदान गौचरणमा परिणत भएको हो । कसैले केहि नभनेकाले आफुहरुले मैदानमा पशु चराउने गरेको स्थानीयको भनाइ छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधिले मैदान वडा कार्यालय मातहत आउनुपर्ने माग गरेका छन् । तर, मैदान बनाउन र संक्षणमा भने चासो दिएको छैन ।
फाप्ला क्रिकेट मैदानलाई अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने भन्दै ड्रिम फाप्ला अभियान समेत सञ्चालन भईरहेको छ । तर, रंगशाला निर्माणले भने गति लिएको छैन ।